
२४ फागुन २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहका नेता भीम रावललाई जवाफ फर्काएका छन्।
उनले आफूलाई कुन पार्टीको प्रधानमन्त्री भनेर सोध्नेलाई गएर सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन्।
‘हिजो म बोलिनँ। प्रधानमन्त्री कुन पार्टी भनेर सोधिरहेका थिए। मैले उहाँहरुलाई सोध्न नपरोस् तपाइँ कुन पार्टीको हो?,’ उनले भने, ‘ प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतलाई सोध्न जाउ।’
प्रधानमन्त्री ओलीले ती समूहले आफूलाई नेकपाको साधारण सदस्यबाट हटाएको भन्दै व्यंग्य गरे- म नेकपाको साधारण सदस्य पनि होइन। तर उहाँहरुले मलाई हटाउनुभयो। बखेडा नझिकेको भए यतिखेर देश चुनावमा जान्थ्यो। मुद्दा हालेर रोके।’
उनले संसद पुनर्स्थापना हो हल्ला गर्नका लागि भएको बताए। ‘संसद पुनर्स्थापना किन गरेको रहेछ भनेको त हो हल्ला गर्न, अध्यादेश पेस गर्न नदिन पो रहेछ। एसिड आक्रमणविरुद्धका अध्यादेश फेल गर्न पो रहेछ। सक्छ भने गरोस् फेल,’ उनले भने।
उनले संसद अदालतले गरेको संसद पुनर्स्थापनाको आदेशलाई आफूहरुले पालना गरेको र त्यहीअनुसार संसद बसेको बताए।
तर पहिलो बैठकमै धामी नाच देखाएको आरोप लगाए। ‘संसदलाई जनताको समस्या सुन्ने थलोको रुपमा बनाउनपर्ने हो। माननीय लेख्याजस्तै बोलेर छलफल गर्नुपर्नेहो। तर छलफल गरेको हो कि उफ्रेको हो कि। धामी नाच देखाएको हो संसदमा?,’ उनले भने।