२० फागुन २०७७, बिहिवार
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।
विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।
मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।
लगत्तै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएका थिए ।









