२० फागुन २०७७, बिहिवार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बोलाएका छन् ।
संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।
सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दैछन् ।
१३ गते बसेको पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नहुने तटस्थ बस्ने निष्कर्ष निकालेको थियो ।
तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष विपक्षमा विभाजित हुन थालेपछि देउवाले छलफललाई जोड दिएको बुझिएको छ ।
देउवाले पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट ठोस नीति अख्तियार गर्ने तयारी थालेका छन् ।
बुधबार देउवा र पौडेलबीच एकै मञ्चबाट फरक–फरक दृष्टिकोण आएको थियो । शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउन देउवाको तयारी छ ।
सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए भने पौडेलले प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।









