अस्थायी डाइभर्सनबाट सुरुङ मुख्य गेटसम्म २ सय ७० मिटरमा पानी पठाउन तयार पारिएको स्विच थिच्न मन्त्रीहरुबीच ठेलमठेलझै देखियो । तीन मन्त्री मात्र होइन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले पनि स्विच थिच्न बिर्सिएनन् ।
राजधानीसँग जोड्ने साढे २६ किलोमिटर मुख्य सुरुङमार्गमा पानी हालेर पुनः परीक्षण सुरु गरिएको हो । बाँध फुट्ने डरले थोरै दूरीमा मात्र पानी पठाइएको हो । यो पहिलो परीक्षण भने होइन । गत असार २१ को पहिलो परीक्षण प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्विच थिचेरै गरेका थिए । तर सोमबारको कार्यक्रम हेर्दा पहिलो पटक नै उद्घाटन गरिएको भान हुन्थ्यो ।
पहिलो परीक्षण क्रममा हेलम्बु १ अम्बाथानस्थित मुहानको मुख्य अडिट (जिरो चेनेज देखि ८ सय मिटर) मा पानी पठाइएको थियो ।
तर बाँधको ढोका फुटेपछि परीक्षण रोकियो । खोनपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले स्वतन्त्र विज्ञको सल्लाहअनुरुप प्राविधिक तयारी सकेपछि पुनः परीक्षण गरिएको हो । कान्तिपुर