२८ माघ २०७७, बुधवार
प्रधानमन्त्री केपी शर्मा ओलीले दोषी पक्का भएपछि मात्र अदालतमा मुद्दा दायर गर्न अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई सुझाव दिनुभएको छ ।
बुधबार आयोगको ३०औं स्थापना दिवसको अवसरका उहाँले दोषी हो भन्ने पक्का भएपछि मात्र मुद्दा दायर गर्न बाञ्छनीय हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आयोगले निर्दोष व्यक्तिलाई आरोप लगाएर मुद्दा दायर हुनसक्ने तर्फ सचेत बन्न आयोगलाई आग्रह गर्नुभयो ।
‘निर्दोष व्यक्तिमाथि आरोप लगाएर मुद्दा दायर गर्नुअघि सोच्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले व्यक्तिको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा बाधा आइपर्न सक्छ ।’
कानूनको नजरमा सबै बराबर भन्ने सिद्धान्तमा अख्तियारले अबलम्बन गनुपर्ने उहाँको सुझाव छ ।
‘दोषी भएको पक्का भएपछि मात्र मुद्दा दायर गर्नु बान्छनीय हुन्छ,’ उहाँले भन्नुभयो, ‘आयोगलाई देखेर दोषी र अपराधी थर्कमान हुनुपर्छ भने निर्दोषीहरू ढुक्क हुनुपर्छ ।’
समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सुशासनयुक्त समाज बन्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।
कानुनको निश्पक्ष कार्यान्वयन, समाजमा शान्ति सुव्यवस्था, सबैलाई न्यायको लागि अख्तियारले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले राज्यलाई नोक्सान पारेर कसैले आफ्नो व्यक्तिगत ढुकुटी भर्न र विकास निर्माणका लागि कुनै अवरोध उत्पन्न नहोस् भन्ने आफूहरूको चाहना रहेको बताउनुभयो ।
आयोगलाई अझ प्रभावकारी बनाउन निर्वाचनपछि कानून संशोधित भएर आउने प्रधानमन्त्री ओलीको भनाइ ।
आयोगको अहिलेसम्मको कामप्रति सन्तुष्टि जनाउँदै उहाँले अबका दिनमा आयोगका कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।