१६ माघ २०७७, शुक्रवार
बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ ।
फाउन्डेसनले शुक्रबार काठमाण्डौमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी, पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ ।
त्यसैगरी पत्रकारहरु फातिमा बानु, बर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारिता तर्फ कोभिड १९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्यलाई १ लाख १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्य लाई जनही ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
नर्सिङ तर्फ बीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुती साहलाई सम्मान गरिएको छ ।
यस पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।
स्वास्थ्य सहयोगी कर्मचारी तर्फ भेरी अस्पतालकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
संस्थागत तर्फ पाटन अस्पताल, ललितपुर, सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ ।









