
१६ माघ २०७७, शुक्रवार
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा देशको रक्षाका निम्ति जीवन दिने अमर सहिदहरूले बलिदानको त्यागको श्रेष्ठता देखाएको र त्यो अतुलनीय भएको बताएका छन् ।
सहिदका योगदानसँग बाँचेका मानिसहरूको कुनै पनि योगदान तुलना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।
लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले अहिले जुन उपलब्धि, सफलता र उचाइ प्राप्त भएको छ ती सबै कुराका पछाडि सहिदको बलिदानले काम गरेको बताए ।
सहिदहरू सबैका साझा भएकाले सहिदको बलिदानबाट प्राप्त उपलब्धिहरू समेत सबैको साझा भएको बताए ।
‘सहिदको बलिदानीबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पूरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको हो,’ उनले भने ।
सो अवसरमा प्रधानमन्त्री सहिदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौँ महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विभिन्न मन्त्रीहरूको उपस्थिति रहेको थियो ।