१६ माघ २०७७, शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनालाई धराशायी पार्ने चेतावनी दिएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धराशायी बनाउने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए ।

“संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गरिनेछ,” प्रचण्डले भने ।

प्रचण्डले ओलीलाई आफैंले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैंले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध उक्त समूहले बुटवलमा प्रदेशस्तरीय विरोध सभा गरेको हो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक सहभागितामा प्रदर्शनपछि विरोधसभा भएको हो ।

बुटवलको पुष्पलाल पार्कमा भएको सभालाई प्रचण्ड र माधवकुमार नेपालसहित घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, बर्षमान पुन, युवराज ज्ञवालीलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर