
भुलकक्ड !
प्रिय कम्रेड ! प्रिय लोकतन्त्रवादी !
संयोग भनौं या वियोग,
केही समय भो अचेल तिमीलाई भुलेछु
तिमीलाई भुलेपछि पो याद भो ?
मैले त सबैथोक पो भुलेछु…!
तिम्रै महिमागानमा आफ्नै जीवनको धुन भर्न भुलेछु
तिम्रै कथाव्यथा सुन्दासुन्दै आफ्नै कथा लेख्न भुलेछु
लेलीन, लिङ्कन र गान्धीको तस्वीर हेर्दा हेर्दै बाको तस्वीर भुलेछु
तिम्रो छहारीमा गाउँको शीतलता भुलेछु …!
मैले भुलेकै भएर पो हो कि ?
अचेल तिमीले पनि मलाई भुलेछौ …?
प्रिय कम्रेड ! प्रिय लोकतन्त्रवादी !
हामी दुवै यतिसम्म भुलक्क्ड कसरी ?
तिमीले लेखेको सिद्धान्त तिमी आफैले भुलेछौ र सामन्ती भएछौ ….!
म पनि त के कम ?
जीवनभर सामन्ती सत्ताका विरुद्ध लड्दा लड्दै आफ्नै सामन्तीसत्तासँग लड्न भुलेछु …!
हिसाब बराबार – आधा तिमीले भुल्यौ…! आधा मैले..!
अब विचारको ट्याग टाँग्नु नै किन पर्यो …?
त्यसैले,
प्रिय कम्रेड ! प्रिय लोकतन्त्रवादी !
माफ गरिदेउ !
अब तिम्रो वैचारिक दासत्व पनि स्वीकार छैन् !