यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए ।
फरहदवा (अहिलेको राजपुर–२) स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो ।
तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो ।
बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए ।
उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पुर्याइयो ।
जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो ।
‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ ।
सोही घटनामा बमका छर्रा लागेर सफी अहमद पनि घाइते भएका थिए ।
तर, उनी उपचार पाएर बाँच्न सफल भए ।
किनभने उनी आलमका टाढाका आफन्त पनि हुन् ।
त्यतिवेला उनी आलमकै लागि काम गर्थे ।
खुट्टा, पेट र छातीमा छर्रा लागेर गम्भीर घाइते भएका सफीलाई आलमकै सहयोगमा तत्काल भारतको पटनास्थित अस्पताल पु¥याएर उपचार गरिएको थियो ।
यता आलम भने चुनाव जितेर ०६७ मा मन्त्री नै भए ।
०७४ को निर्वाचनमा फेरि निर्वाचित भएका थिए ।
फौजदारी अभियोग लागेपछि मात्रै उनी निलम्बित भएका थिए ।
आतंक र प्रलोभनका भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए ।
गत वर्ष मात्रै उनी पक्राउ परे ।
आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे ।
उनले आलमविरुद्ध जाहेरी दिए ।
जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए ।
उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए ।
तर, जेलभित्रैबाट पनि उनले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन् ।
जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन् ।
बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन् ।
‘२७ चैत ०६४ (विस्फोट हुँदा)मा म भारतको पन्जाबमा काम गर्न गएको थिएँ ।
त्यहाँ रहँदा मैले खेती किसानको काम गर्थेँ ।
मैले गाई, भैँसीलाई भुसा र घाँस खुवाउने काम पनि गर्थेँ,’ सफी अहमदले गरेको बकपत्रमा उल्लेख छ ।
खुट्टामा भएको खाटालाई भने उनले कोदालो चलाउँदा लागेको चोटको दाग बताएका छन् ।
मुख्य अभियुक्त अफताब आलम, उनका भाइ महताबलगायतलाई नचिनेको बयान उनले दिएका छन् ।
सफीको जिल्ला अदालतमा तीन दिनसम्म बयान चलेको थियो ।
जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २७ चैत ०६४ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए ।
अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
उनले भनेका छन्, ‘घर आएको वेला मलाई प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगेर गए ।
त्यहाँ थुनामा राखे, कुटपिट गरे ।
उनीहरूले नै झुटा कागजात बनाए ।
मलाई जबर्जस्ती गरेर सोही कागजातमा हस्ताक्षर गर्न लगाए ।
त्यसैले मैले दिएको जाहेरी सही होइन ।’नयाँ पत्रिका








