
५ माघ २०७७, सोमवार
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् ।
कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो ।
नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताए ।
यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए ।
नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ ।
नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले रु छ हजार तथा नेपाल एयरलाइन्सले रु पाँच हजार ९७५ तोकेको बताइएको छ ।
सबै एयरलाइन्सले हप्तामा एक–एक उडान भर्न शुरु गरेका छन् ।