४ माघ २०७७, आइतवार
एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।
पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो ।
पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित एन्जर्स ३० अंक जोडेर सातौ स्थानमा छ ।
पीएसजीको जितमा लेभिन कुर्जावाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
एन्जर्समा शनिबार राति भएको खेलमा पीएजसीले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
२६औं मिनेटमा एन्जल डि मारियाको पासमा नेयमारले गोल गर्ने सुवर्ण अवसर गुमाउदा पीएजसी अग्रता लिनबाट चुकेको थियो ।
४७औं मिनेटमा मोइस किनको पासमा एमबाप्पेले सिक्स यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
५१औं मिनेटमा मान्सेउको पासमा डिओनीको डाइभिङ हेडरलाई पीएसजीका गोलरक्षक केलर नाभासले मुस्किलले बचाउदै पीएसजीको संकट टारे ।
५४औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले अर्काे सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् ।
७०औं मिनेटमा कुर्जावाले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।
एलेसान्द्रो फ्लोरेन्जीको क्रसलाई रोमेन थोमसले क्लियर गर्न नसकेको बललाई कुर्जावाले जाली चुमाएका थिए ।