काठमाडौंको टेकुस्थित विष्णुमति पुल निर्माणमा ठूलो भ्रष्टाचार भएको खुलासा भएको छ । निर्माण कम्पनी जीआईईसी पप्पु जेभीले सर्त र मापदण्डअनुसार निर्माण नगरी गुणस्तरहीन सामग्री प्रयोग गरी जोखिमपूर्ण पुल निर्माण गरेको तथ्य बाहिर आएको हो ।

अहिले उक्त गुणस्तरहीन र जोखिमपूर्ण पुल प्रयोगमा रोक लगाइएको छ । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पुका सञ्चालक सुमित रौनियार र तत्कालीन आयोजना कार्यान्वयन ईकाईका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीसमेत ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले एक करोड १४ लाख ७६ हजार भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । काठमाडौं दीगो शहरी यातायात आयोजनाअन्तर्गत टेकुमा निर्माणाधीन उक्त पुल सम्झौता बमोजिमको सर्त र मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेशिफिकेसन बमोजिम निर्माण नगरेकोले आयोजनाले काम रोकी त्रुटी सच्याउन पत्राचार गरेको थियो ।

तर, निर्माण व्यवसायीले उक्त निर्देशनको बेवास्ता गरी पुल निर्माण अगाडि बढाएको भन्ने उजुरी परेको थियो ।

उक्त उजुरीमा निर्माण कम्पनी पप्पुका सुमित रौनियार, आयोजनाका तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा, अनुसन्धान आयोजना प्रमुख नेपाली, तत्कालीन लेखा अधिकृत श्यामबहादुर खत्री, तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर