१६ पौष २०७७, बिहिवार
नेपाल टेलिकमले शुक्रबारदेखि आफ्ना एफटीटीएच ग्राहकलाई इन्टरनेटमा आधारित टेलिभिजन सुविधा सुरु गर्ने भएको छ ।
तत्कालका लागि यो सुविधा काठमाण्डौंका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोङ्गबु, पाटन, हात्तिगौँडा, जोरपाटी, कीर्तिपुर, सैँबु, लुभु, नक्साल र काठमाण्डौं बाहिर बनेपामा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सेवा जडानका लागि ग्राहकले कम्पनीको कार्यालयमा सम्पर्क गरेर सेट अप बक्स खरिद गर्नुपर्नेछ ।
देशका ३३ ओटा जिल्लाका विभिन्न स्थानमा टेलिकमको एफटीटीएच उपलब्ध छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकको तुलनामा आधारभूत प्याकेज निकै सस्तो रहेकाले पनि टेलिकमको एफटीटीएचप्रति आकर्षण बढिरहेको छ । टेलिकमले अहिले वार्षिक आठ हजार पाँच सय रुपियाँमै आठ एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । यससँगै ग्राहकले एउटा टेलिफोन नम्बर पनि निःशुल्क प्राप्त गर्नेछन् ।