१६ पौष २०७७, बिहिवार
यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। ५० भन्दा बढी घाइते भएको बताइएको छ।
सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको विवरण प्राप्त भएको छ।
त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले “कायरतापूर्ण आतङ्कवादी कार्य” गरेको आरोप लगाएका छन्।
सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।
त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ।

मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।
समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन्। साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।
यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप-मन्त्री घाइते भएको उल्लेख गरेको छ।प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।









