१४पुष २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

‘बयलगाडा’को सिद्धान्त मलाई थाहा थियो 

अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् ।

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।

‘ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो ।’

वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर