
१३ पौष २०७७, सोमवार
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था नभएको दाबी गरेका छन्। सोमबार प्रदेश मन्त्रिपरिषद् बैठकले गरेका निर्णय जानकारी गराउँदै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्।
केही प्रदेशहरूमा मुख्यमन्त्री चयन गर्दा नै मतदानमार्फत् गरिएको भए पनि लुम्बिनी प्रदेशमा भने सर्वसम्मतमा मुख्यमन्त्री चयन गरिएकाले अविश्वासको प्रस्ताव ल्याउने अवस्था समेत नभएको उनले बताए। ‘अहिले प्रदेश सरकार र मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव आउन सक्ने अवस्था पनि छैन र मुख्यमन्त्रीले पनि कोही मन्त्री हेरफेर गर्ने र थपघट गर्ने अवस्था पनि छैन,’ मन्त्री चौधरीले भने।
मुख्यमन्त्री शंकर पोखरेलको व्यस्तता र विजनेस नभएका कारण लामो समयको अन्तरालमा मन्त्रिपरिषद् बैठक बसे पनि सोमबारको बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषदबीच भगिनी सम्बन्ध स्थापित गर्ने एकमात्र प्रस्तावमा छलफल गरी पारित गरेको उनले जानकारी दिए।