५ पौष २०७७, आइतवार

एजेन्सी – इटालियन क्लब एसी मिलानका पोर्चुगिज फरवार्ड राफाएल लिआओले खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेर सिरी ए मा नयाँ कीर्तिमान राखेका छन् ।

आइतबार सासुओलोविरुद्ध खेलमा लिआओले खेल सुरु भएको ६.२ सेकेन्डमा गोल गर्न सफल भएका हुन् । इटालियन शीर्ष श्रेणीको इतिहासमा यो नै सर्वाधिक छिटो गोल हो । लिआओले मिलानको लागि खेलमा बल छुने तेस्रो खेलाडी बन्दै गोल गरेका हुन् ।

मिलानले सेन्टरबाट बल चलाउँदा सोझै आक्रमण गरेपछि सासुओलोको मिडफिल्ड असमन्जसमा परेको थियो । केहि सेकेन्डमा नै हाकान चाल्हानोग्लुबाट पास पाएका लिआओले दुई टच गर्दै डिफेन्सलाई पार गरे र पोस्टमा गरेको प्रहार गोल भएको थियो ।

उच्च फर्ममा रहेको मिलान अंक तालिकाको शीर्षस्थानमा रहेको छ । अहिले जारी खेलमा मिलानले सासुओलोविरुद्ध २-० को अग्रता बनाइसकेको छ । यो खेल जितमा मिलानले दोस्रो स्थानको इन्टरसँग ३ अंकको अग्रता बनाउनेछ । तेस्रो स्थानको युभेन्टसको २७ अंक छ ।

यसअघि सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने किर्तिमान पियासेन्जाका पाओलो फोगीको नाममा थियो । उनले फिओरेन्टिनाविरुद्ध ८.१ सेकेन्डमा गोल गर्दै किर्तिमान बनाएका थिए । प्रिमियर लिगमा भने सेन लङले सन् २०१९ मा ७.६९ सेकेन्डमा गोल गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार