३० मंसिर २०७७, मंगलवार

टेस्ला इंकका प्रमुख कार्यकारी एवं विश्वका दोस्रो धनाढ्य इलोन मस्कले व्यवसायिक नेतृत्वलाई आफ्नो समय छलफल, प्रस्तुतीकरण र बैठकमा खेर नफाल्न आग्रह गरेका छ । सीइओहरुले आफूलाई यसरी व्यस्त राख्दा उनीहरुले भविष्यमा आफ्ना उत्पादन र सेवालाई प्रतिस्पर्धी, नयाँ- नयाँ आविष्कार अनुरूप विकास गर्ने उपायहरुमा ध्यान दिन नसक्ने उनको भनाइ छ ।

द वाल स्ट्रीट जर्नलले आयोजना गरेको सीईओ काउन्सिल वार्षिक सम्मेलनमा मस्कले अमेरिकामा सीइओहरु उत्पादनको गुणात्मक सुधारका लागि केन्द्रीत भएका छन् त भनेर प्रश्न गर्दै आफूले त्यस्तो नपाएको उल्लेख गरेका छन् । फाइनान्स, सम्मेलन कक्ष, प्रस्तुतीकरण र बैठकमा व्यतीत हुने समय कम गर्न र आफ्नो उत्पादन तथा सेवालाई अद्भुत बनाउन लाग्नुपर्ने उनको सुझाव छ ।

मस्कले धेरैजसो कम्पनीहरु कसरी सञ्चालन भैरहेका छन् भन्‍नेमा आलोचनात्मक दृष्टिकोण राखेका छन् । उनले धेरै एमबीएहरुले कम्पनीहरु सञ्चालन गरेको भन्दै विजनेस स्कुल ग्र्याजुएट्सहरुले मात्र कम्पनी सफल रूपमा अघि बढ्न नसक्ने बताए ।

यी अर्बपति कार्यकारीले व्यवस्थापनको असाधरण उपाय अपनाए, जसका कारखण उनी विभिन्न समयमा अप्ठेरोमा पनि पारिएका छन् । उनले वित्तिय क्षेत्रका नियामकहरुसँग सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा यस वर्षको सुरुवातमा पौठेजोरी पनि खेल्नपर्‍यो । कोरोना भाइरस नियन्त्रणका लागि क्यालिफोर्नियामा आश्रय स्थल निर्माणमा नियामकको आलोचना पनि भयो ।

धितोपत्र र विनिमय आयोगले मस्कलाई सन् २०१८ मा मुद्दा दायर गरेको थियो । उनले ट्वीटरमा टेस्ला प्राइभेटको सम्बन्धमा अतिरञ्जित सूचना दिएको आरोपमा मुद्दा चलाइएको थियो । धितोपत्र र विनिमय आयोगले यसको फछ्र्यौटमा टेस्लाका अधिकारीहरुले टेस्लाको सेयर मूल्यमा प्रभाव पार्न सक्ने विवरणहरु पहिला नियामकबाट स्वीकृत गराउनुपर्ने माग गरेका थिए । यो वर्षको सुरुवाततिर उनले आफैंले टेस्लाको सेयर मूल्य अत्याधिक रहेको जस्तो महशुष भएको भन्दै ट्वीट गरेका थिए ।

‘कम्पनीको अर्थ के ? अथवा कम्पनीहरूकै स्वामित्व भएर पनि के हुन्छ?,’ व्यवसायको आधारभूत भूमिकाबारे टिप्पणी गर्दै मस्क भन्छन्, ‘कम्पनीको आफैंमा केही मूल्य हुँदैन । स्रोतको प्रभावकारी विनियोजन गरी लागतको तुलनामा मूल्यवान् र गुणात्मक वस्तु तथा सेवा उत्पादन गर्न सकेमात्र कम्पनीको मूल्य हुन्छ ।’

‘आविष्कार एकै झट्कामा हुँदैन, अथक प्रयासले मात्र प्राप्त हुन्छ । के तपाईंले उपभोक्तामाझ पठाएको उत्पादन वा सेवा त्यत्तिकै गुणस्तरीय छ, जति यो हुनुपर्ने थियो ? सायद छैन । यसलाई राम्रो बनाउन तपाईं के गर्नुहुन्छ ?’

राम्रो वित्तिय विवरण वा प्रतिवेदन तयार गर्ने सोचभन्दा बाहिर निस्केर प्रमुख कार्यकारीहरुले आफ्नो उद्योग वा व्यवसायको स्थलगत भ्रमण गर्नु र उपभोक्तासँग संवाद गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । ‘आविष्कार एकै झट्कामा हुँदैन, अथक प्रयासले मात्र प्राप्त हुन्छ’ मस्क अगाडि भन्छन्, ‘के तपाईंले उपभोक्तामाझ पठाएको उत्पादन वा सेवा त्यत्तिकै गुणस्तरीय छ, जति यो हुनुपर्ने थियो ? सायद छैन । यसलाई राम्रो बनाउन तपाईं के गर्नुहुन्छ ?’

उत्पादन र सेवा केन्द्रीत  सोचको विकासका लागि सुझाउँदै मस्कले सीईओहरुले आफ्ना उत्पादन र सेवाका नकारात्मक टिप्पणीहरु समेत बुझ्नुपर्ने बताएका छन् । उनले वस्तु र सेवा विकास गर्दा आफूले कस्तो उपभोग गर्ने चाहाना राख्ने गरेको छ सोही अनुसार सबैको मनोविज्ञान बुझ्न आग्रह गरेका छन् ।

‘आफूले प्रदान गर्ने उत्पादन र सेवाका सम्बन्धमा निपुण हुनुपर्छ,’ मस्क भन्छन्, ‘यदि आफ्ना उत्पादन र सेवालाई उत्पादकको रूपमा तपाईंले समेत माया गर्नुहुन्न भने अरुले माया गर्नेछन् भन्‍ने अपेक्षा नराख्नुहोस् ।’ मस्कले आफ्नै कम्पनी टेस्ला इंक र स्पेस एक्स्प्लोरेसन टेक्नोलोजिज् कर्प (स्पेस एक्स)मा पनि आफूले विगतमा गल्ती गरेको स्वीकार गरेका छन् । विगतमा उनी पनि अहिले आफूले प्रदान गरिरहेको सल्लाहबाट धेरै टाढा थिए । कम्पनीका आधरभूत काममा उनले विगतमा ध्यान दिएकै थिएनन् । यसमा उनले प्रायश्चित गरेका छन् ।

‘विगतमा मैंले पनि धेरै समय बैठक कक्ष, सम्मेलन र प्रस्तुतीकरणहरुमा बिताए । त्यतिबेला आधारभूत काममा ध्यान दिन सकिनँ,’ मस्क थप्छन्, ‘जब मैंले उद्योगभित्र समय बिताउन थाले । त्यहाँ उत्पादन भएका कारहरु प्रयोग गरेर हेरें, रकेटहरुलाई मिहीन तरिकाले अवलोकन गरें । अहिले सबैतिर राम्रो हुँदै आएको छ ।’

आफ्ना कम्पनीहरुले कामको प्रत्यायोजनलाई सम्मान गर्ने र स्वामित्व लिने भएपनि आफू पनि आधारभूत काममै फर्किदाँ त्यसको लाभ र छुट्टै आनन्द छ ।
व्यवसायलाई युद्धसँग तुलना गर्दै उनी भन्छन्, ‘के तपाईं कमाण्डरलाई युद्धमोर्चाको अग्रभागमा रहेर नेतृत्व गरोस् भन्ने चाहानुहुन्छ वा आइभोरी टावरबाट हेरेको रुचाउनुहुन्छ ? तपाईंले आफू कुनै विलासी कार्यालयमा नभएर आफ्ना कर्मचारीको साथमा हुनुहुन्छ भन्ने महशुष गराउनुको ठूलो अर्थ हुन्छ ।’(वाल स्ट्रीट जर्नलबाट)

प्रतिक्रिया

सम्बन्धित खवर