१४ असोज २०७७, बुधवार

लकडाउन र निषेधाज्ञा खुलेपछि बिस्तारै अन्य होटलहरु खुलिरहेका बेला विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय होटल बन्द भएको छ।

विराटनगरको ट्राफिक चोकमा २०३७ सालदेखि सञ्चालित ‘होटल नमस्कार’ बन्द गरिएको हो। कोभिड–१९ को विश्वव्यापी कहरको परिणामस्वरूप विराटनगरमा यसअघि असार ११ मा ‘होटल जेनियल’ बन्द गरिएको थियो।

४१ वर्षका अवधिमा यस होटलमा एउटै घरका ३ पुस्ताले योगदान गरेका छन्। धरानका प्रसिद्ध समाजसेवी एवम् निर्माण व्यवसायी राजकुमार श्रेष्ठले होटलको सञ्चालन आरम्भ गरेका थिए।

राजकुमारको निधन २०४४ मा भएपछि उनका छोराद्वय युवराज र राजनले सञ्चालन गरे। राजनले २०५१ देखि विराटनगरकै रोडशेषमा अर्को होटल ‘होटल स्वागतम’ को सञ्चालन सुरु गरे। यसपछि युवराजले एक्लैको काँधमा ‘नमस्कार’ को दायित्व आइलाग्यो। युवराजको निधन २०६९ सालमा भयो। अनि उनका छोरा युनेशले होटल सञ्चालनको अभिभारा लिए।

युनेशले बिजमाण्डूलाई भने, ‘हो, हामीले होटल नमस्कारमा लजिङ र फुडिङ बन्द गरेका छौं। तर होटलअगाडि रहेको भ्यालेन्टाइन क्याफेलाई चाहिँ निरन्तरता दिनेछौं।’

देशको दोस्रो ठूलो शहर विराटनगरमा पर्यटकस्तरीय एक होटलमात्र सञ्चालनमा थियो। २००७ सालका स्वतन्त्रता सेनानी कालिकाप्रसाद गुप्ताको सञ्चालनमा महेन्द्र चोकमा रहेको ‘मिलन होटल’ ले विराटनगरमा ठूला होटलको इज्जत धानिदिएको थियो।

धरानमा निर्माण व्यवसायका साथै समाजसेवामा पनि नाम कमाएका व्यवसायी राजकुमारलाई विराटनगर झरेर अझ ठूलो काम गर्ने अभिलाषा थियो। यसैबीच विराटनगरमा कार्यरत प्रसिद्ध चिकित्सक दम्पतीको काठमाडौं सरुवा भयो। उनीहरू थिए डा. लोकविक्रम थापा र डा. जुनु थापा। लोकविक्रम सर्जन र जुनु स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।

लोकविक्रम र जुनुले विराटनगरको ट्राफिक चोकमा १० कट्ठा जमिन खरिद गरेर ठूलो भवन निर्माण गरेका थिए। यस भवनमा नर्सिङ होम सञ्चालन गर्ने थापा दम्पतीको उद्देश्य थियो। तर हठात् सरुवा भयो, उनीहरूले सरकारी जागिर माया मार्न सकेनन्। राजधानी हानिए।

नर्सिङ होम सञ्चालन गर्ने लक्ष्यका साथ बनाइएको घर अब राजकुमारले लिजमा लिने भए। उनले २०३७ सालदेखि यही घरमा होटल नमस्कार सञ्चालन गरे। होटलमा अट्याच बाथरुम भएका ३६ वटा कोठा छन्। ८० पाहुना सजिलै अटाउन सक्छन्।

केही समयपछि लोकविक्रमले यो घरजग्गा काठमाडौंकै कृष्णगोपाललाई बिक्री गरे। कृष्णगोपालले पनि ‘नमस्कार’ लाई लिजमा घरजग्गा दिइरहे।

नमस्कारको सञ्चालन तत्काल बन्द गरे पनि युनेशमा हस्पिटालिटी बिजनेसको धोको पुगेको छैन। हजुरबाले सुरु गरेको होटल बिजनेस उनको व्यावसायिक र पारिवारिक संस्कारका रूपमा दृढ भएको छ।

‘६ महिना त हामीले बिना काम होटल बन्द गरेर नै बितायौं,’ उनको भनाइ थियो, ‘होटल खुलेपछि केही बिजनेस आउला र कमसेकम सस्टेन गर्न सकौंला भन्ने आश थियो। त्यो आश पनि मरेर गएपछि बन्द गर्नुको विकल्प रहेन। तैपनि मेरो जीवन हस्पिटालिटी बिजनेसमै बिताउने संकल्प भने मरेको छैन।’

युनेशको अनुभवमा विराटनगरमा तारे र पर्यटक स्तरीय ठूला होटल राम्ररी चल्न सक्ने कुरामा शंका छैन। यहाँका होटलका पाहुना भनेका पर्यटक होइनन्। तर विराटनगर प्रदेशको राजधानी भएपछि होटल व्यवसाय अझ मौलाउन थालेको थियो। सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका कार्यक्रम, गोष्ठी र सेमिनारहरू यहाँका होटलका मुख्य बिनजेस आकर्षण हुन्।

विराटनगर औद्योगिक र व्यापारिक शहर पनि हो। त्यसैले ठूला व्यापारिक घरानाका बिजनेस पनि प्रशस्त आउँछन्। भारतमा मदिराको निषेधसँगै विराटनगरका होटल पनि गुल्जार हुन थालेका थिए। कोभिडको कहर सकिएपछि यो सम्भावना अझै टरेको छैन।

‘अब मसित दुई वटा स्पष्ट अप्सन छन्,’ उनले थपे, ‘पहिलो त, साबिककै परिसरमा पछाडिको खाली जमिनलाई पार्टी प्यालेस र अगाडिको ठूलो आँगनलाई सपिङ मल बनाएर यही भवनमा होटल सञ्चालन गर्न सकिन्छ। दोस्रो अप्सन के छ भने, बुबा (युवराज) ले विराटनगरकै रोडशेषमा साढे ४ कट्ठा जमिनमा होटलको शिलान्यास गर्नुभएको थियो। त्यसपछि बुबालाई ठूलो रोग (क्यान्सर) लाग्यो र उहाँको निधन भयो। त्यही ठाउँमा नयाँ होटल बनाएर नयाँ ढंगले जान सकिन्छ।’

‘होटल नमस्कार’ बन्द गर्नुभन्दा अगाडि युनेशले होटलका बिग्रने प्रकारका सबै सामग्री कबाडीलाई बिक्री गरिसकेका छन्। पछि होटल सञ्चालन गर्दा पनि चाहिने तर नबिग्रने खालका सामग्री भने अझै सुरक्षित राखेका छन्। त्यस्तै पार्ट टाइममा रहेका कर्मचारीलाई बिदा गरेका छन् भने क्याफे चलाउन आवश्यक पर्ने कर्मचारीलाई अझै राखेका छन्।

युनेशका अनुसार ‘होटल नमस्कार’को साबिकको भवन पुरानो र जीर्ण भइसकेको छ। यस भवनमा आधुनिक शैलीमा होटल सञ्चालन गर्न अब सम्भव छैन। टुटेफुटेका ठाउँमा मर्मत सम्भार र रिनोभेसन गर्दै काम चलाउन पनि नहुने भइसकेको छ। त्यसैले यो भवनलाई अब डिस्मेन्टल गर्नैपर्छ।

तर रोडशेष चोकमा आफ्नै स्वामित्वमा रहेको जमिनमा नयाँ होटल बनाउने कि साबिककै ठाउँमा निरन्तरता दिने भन्ने दुई विकल्पमध्ये कुन रोज्ने उनी टुंगोमा पुगिसकेका छैनन्।विजमाण्डुवाट

प्रतिक्रिया

सम्बन्धित खवर