जि.के पाण्डेय
असार ११
हिजो असार १० देशभरका स्थानीय तहले जस्तै कालीगण्डकी गाउँपालिका स्याङ्जाले पनि गाउँसभाको १३ औं अधिबेशन मार्फत आर्थिक बर्ष
२०८०/०८१ लागी बजेट प्रस्तुत गरेको छ। हिजोको गाउँसभामा प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेटको पुर्णपाठ अध्ययन गर्दा,
मृगौला,मुटु,क्यान्सर,अल्जाइमर्स,स्पाइनल इन्जरी लगायत दिर्घरोगीहरुलाइ “अध्यक्ष संग नि:शुल्क औषधी” कार्यक्रम,शुन्य होम डेलिभरी
गराउन गर्भवती महिलालाइ गाउँपालिका भित्र रहेका वर्थिङ्ग सेन्टर र अस्पतालसम्म पहुँचका लागि नि:शुल्क एम्बुलेन्स सेवा बाहेक यो बजेटले
कालीगण्डकीलाइ समृद्धिको मार्गमा डोर्याउछ भन्ने बिस्वासिलो आधार भेटिदैन। बजेटमा पालिकाको गौरवको योजना कहिँ कतै समाबेश
भएको देखिन्न,युवा स्वरोजगार,लघु उद्यम,आधुनिक कृषिलाइ प्रोत्साहनका लागि आवस्यक बजेटको व्यवस्था गरिएको छैन। अधिकांश जटिल
भु बनोट रहेको पालिकामा आगलागी,बाढि पहिरो,मानवीय तथा दैवी प्रकोप पिडितलाइ तत्काल राहत व्यवस्थापनका लागि निकै सानो बजेटको
व्यवस्था गरिएको छ। भर्खर मात्र चालु आर्थिक बर्षमा कालीगण्डकी गाउँपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार पालिकाको
मातहतमा रहेका सवारी साधनको इन्धन र मर्मतको लागि मात्र ४५ देखि ५० लाख खर्च भएकोमा कालीगण्डकीका सबै नागरिकको लागि
नि:शुल्क उपचारको लागि भन्दै छुट्याइएको बजेट मात्र ६० लाख छ जुन निकै न्युन हो। पालिका भित्रका विभिन्न सडक शिर्षकमा सडक ढलान
गर्नको लागि छुट्याइएको १०/१० लाखका टुक्रे योजनाले सडक कति,कस्तो र कुन गुणस्तरको बन्छ सजिलै पुर्वानुमान लगाउन सकिन्छ।
बजेट पुस्तिकाको विभिन्न बुँदा जस्तै ११.४,१२.७,१२.८,१३.१७ मा समाबेश गरिएको बजेट फगत औपचारिकता र सिमित व्यक्तिको उन्नयन
बाहेक उपलब्धि उन्मुख छैन भन्दा अत्युक्ति नहोला। पालिका भित्र रहेका ८५% किसानलाइ बजेटले उत्साहित बनाउन सकेको देखिन्न,गाउँमै
केहि गर्छु भनेर कृषि तथा पशुपंक्षि पालनमा आफ्नो भविस्य खोजेका पालिकाका युवा उद्यमीको हकमा पनि आगामी आर्थिक बर्षको बजेट मौन
देखिन्छ। कालीगण्डकी गाउँपालिकाले हालसम्म वितरण गरेको ड्रागन फ्रुट,कागति,केरा लगायतका फलफुलका बिरुवाट उत्पादन सुरु
भएको/नभएको,पालिकामा हालसम्म उत्पादित कृषि उपजको बजारीकरणको अवस्था,उत्पादनको लक्ष्य,आगामी कार्य योजना के छ?
बजेट पुस्तिकामा समाबेश छैन। सबैको चासोको बिषय रहेको लोकल मदिरा ब्राण्डिङ्ग,कृषकको प्रमुख समस्याको रुपमा रहेको बाँदर र
यसको नियन्त्रणको लागि मंकी क्याचर र सो को लागि आवस्यक प्रविधिको बारेमा आगामी आर्थिक बर्षको बजेटले बोल्न भ्याएन।
सारमा विगतमा जस्तै लोक रिझ्याइँका लागि कपि पेस्ट गरिएका टुक्रे योजना,फगत कर्मकाण्डका लागि मात्र आर्थिक बर्षको अन्त्यमा संचालन
हुने भत्तानुमुखी गोष्ठी,सेमिनार र तालिममा इतिश्री हुने,यथेष्ट आधारहीन आयको स्रोत र सोहि अनुसारको योजनागत विवरणहरुको दस्तावेज यो
बजेटले पालिकाबासिको समृद्धिको सपनालाइ साकार बनाउनेतर्फ इटा थप्ने काम गर्छ भन्नेमा बिश्वास गर्न सकिने आधार भेटिदैन।