वीरेन्द्र भट्ट, धनगढी 

२०७८ माघ २४, सोमबार 

२०७६ साउनमा धनगढी फूलबारीकी आरती थापाले कतारमा रहेका श्रीमान् धनसिंह थापालाई म्यासेन्जरमार्फत मिटर ब्याजले बर्बाद भएको र ४९ लाख रुपैयाँ, ३ तले घर र २ कट्ठा जमिन गुमाएको बताइन्।  यस्तो खबर सुनाएकै साँझ उनले आत्महत्या गरिन्

मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके मिटर ब्याज डबल–तेब्बर बनाउने र ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि कैलालीमा अझै रोकिएको छैन।

मिटर ब्याजकै गोलचक्करमा परेर धनगढीकी मधु केसी पनि नराम्रोसँग डुबेकी छन्।

जमिन मात्र होइन घरसमेत खाली गर्न बैंकबाट पत्र आएको उनको गुनासो छ।

‘महिलाबाट यो चक्करमा परेर डिप्रेशनमा परेकी छु, घर न घाटको अवस्थामा दैनिकी पुगेको छ,’ उनले भनिन्।

अनौपचारिक स्रोतहरूबाट अनेकन सर्त मानेर ऋण लिने र सर्तहरूमा जेलिएर कर्जा तिर्नै नसक्ने परिस्थितिमा पुगेर उठीबास हुने र आत्महत्या गर्न अग्रसर हुने घटनामा कमी आएको छैन।

नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन।

तर अनौपचारिक अर्थतन्त्रको फैलावट बढ्दै जाँदा मिटर ब्याजको धन्दा चलाउनेहरूको संख्या बढ्दो छ।

कैलालीमा केही वर्षयता फस्टाएको मिटर ब्याजको जालोले कयौंको उठीबास भएको छ।

कयौं व्यक्तिले आत्महत्या गरेका छन्  भने कयौं व्यक्तिको रहस्यमय मृत्यु भएको छ।

तर पछिल्लो समय मिटर ब्याज सम्बन्धि प्रहरीमा कुनै उजुरी नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘प्रहरी समक्ष अहिलेसम्म यस्ता गुनासा आएका छैनन्,´ उनले भने, `कसैलाई समस्या परेको छ भने प्रहरीमा आउन अनुरोध गर्छु।’

यकिन तथ्यांक नभए पनि मिटर ब्याजीको गिरोहबाट ठगिएर सम्पत्ति सबै गुमाएर बिजोग हुनेको संख्या सयौं रहेको अनुमान छ।

मिटर ब्याजीको गिरोहवाट ठगिएर आत्महत्या गर्ने, ज्यान गुमाउने,सम्बन्ध विच्छेद हुने, उठीबास हुने अवस्था डरलाग्दो छ।

धनगढीकै युवा खेम रानाको रहस्यमय मृत्यु पनि मिटर ब्याजीको जालोकै कारण भएको आशंका छ।

धनगढीकै प्रतिष्ठित व्यापारी कामना स्टोरका सञ्चालक मनिष शर्मा मिटर ब्याजी गिरोहबाट ठगिएका कारण पलायन छन्।

थोरै पैसा दिएर झुक्याएर घरजमिन आफ्नो नाममा बनाउने, बढी रकम लिएको भनेर औंठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने गिरोह धनगढीमा सक्रिय छन्।

मिटर ब्याजीको फन्दामा परेर धेरैको उठीबास भएकाले समाजमा कलंकको रुपमा स्थापित भइरहेको यस्तो कार्यलाई रोक्न प्रहरी सक्रियता बढ्नुपर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संयोजक खडकराज जोशीले बताए।

‘मिटर ब्याज अबैध कारोबार भएकाले यो विषयमा मसिनो गरेर अध्ययन गरी यो सधैका लागि किनारा लगाउनुपर्छ,’ उनले भने।

पछिल्लो समय मिटर ब्याजको जालो प्रहरी प्रशासन र केही राजनीतिक नेताहरुकै आडमा फैलिरहेको सरोकारवाला बताउँछन्।दिनेशखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर