पत्रपत्रिका
कान्तिपुर दैनिक

२२ भाद्र २०७८, मंगलवार

राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ? प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएका छैनन् । अधिकांश दलको लेखा परीक्षण प्रतिवेदनमा चन्दा र सहयोग भन्ने अनुसूचीमा कतैबाट लिएको देखाइएको छैन । जबकि राजनीतिक दललाई चन्दा दिएको उद्योगपति, व्यापारीले सार्वजनिक मञ्चमै बताउने गरेका छन् ।

२०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालीन नेकपाको दुई वर्षको कागजी हिसाब हेर्ने हो भने कतैबाट चन्दा लिएको देखिँदैन । गत फागुनमा सर्वोच्च अदालतको आदेशले दुई पार्टी पूर्वावस्थामा फर्कनुअघि तीन वर्षभन्दा बढी अवधि नेकपा सबैभन्दा ठूलो दलका रूपमा कायमरह्यो । नेकपासहित अन्य दलले दुईवटा आर्थिक वर्षमा गरेका कारोबारलाई कान्तिपुरले केलाउने प्रयास गरेको छ ।

नेकपाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा चन्दा र सहयोग खासै देखाएको छैन । २०७५/७६ मा संस्थागत सहयोग भन्दै जम्मा १८ लाख ७६ हजार रुपैयाँ उठाएको छ भने २०७६/७७ मा चन्दा र सहयोग शून्य देखाएको छ । चन्दाबिनै चलेको अर्को पार्टी हो– जसपा । उसले २०७६/७७ मा कतैबाट पनि चन्दा लिएको देखिँदैन । २०७५/७६ मा भने २६ लाख ८६ हजार ५ सय २० रुपैयाँ चन्दा/सहयोग लिएको देखिन्छ । त्यसमध्ये व्यक्तिगत रूपमा २ लाख, संस्थागत (नेफेसो) बाट १ लाख ५१ हजार २० रुपैयाँ र अन्यबाट २३ लाख ३५ हजार ५ सय रुपैयाँ उठाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा दलले १ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा सम्पूर्ण विवरण खुलाउनुपर्ने प्रावधान छ । आर्थिक सहयोग दिने व्यक्ति, संस्थाको नाम, थर, ठेगाना, पेसा, स्थायी लेखा नम्बर तथा त्यस्तो आर्थिक सहयोग दिइएको रकमको स्रोत र त्यस्तो रकममा कर लाग्ने/नलाग्ने खुलाउन मात्र लिनुपर्ने हुन्छ । दलले त्यस्तो विवरणको अभिलेखसमेत राख्नुपर्ने हुन्छ । तर दलहरूको लेखा परीक्षण प्रतिवेदनमा कसले कति दियो भन्ने उल्लेख छैन । जसपाले आम्दानीको स्रोतमा अन्यबाट प्राप्त भन्ने उल्लेख गरेको छ । कांग्रेस सबैभन्दा बढी चन्दा उठाउने पार्टीका रूपमा देखिएको छ । उसले २०७६/७७ मा ६२ लाख २१ हजार ६ सय ६१ उठाएको थियो भने २०७५/७६ मा १ करोड ४६ लाख ४० हजार ७ सय ६ संकलन गरेको थियो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल दलहरूले ‘ठूला भ्रष्टाचार र अपराधीको पैसा’ चन्दा/सहयोगका रूपमा लिए पनि लेखामा अभिलेख नराख्ने गरेको आरोप लगाए । ‘दलहरूको मुख्य आयस्रोत नै चन्दा हो, चन्दा कसरी लिने, कोबाट कति लिने भन्ने कानुनमा स्पष्ट छ,’ उनले भने, ‘राजनीतिक दलमाथि लगानी गर्ने रकम ठूला भ्रष्टाचारबाट आउने हो । पछिल्लो पटक ७० करोडको मोलमोलाइ पनि दललाई चाहिन्छ भनेर गरेको हो नि ! त्यत्रो पैसा एउटैले खाने आँट गर्दैन । त्यसैले जति पनि ठूला भ्रष्टाचारको कुरा आउँछ, दलहरूले चासो दिँदैनन् ।’

चन्दा/सहयोग उठाउनेमा कांग्रेसजस्तै तत्कालीन साझा पार्टी पनि हो । उसले आर्थिक वर्ष २०७५/७६ मा कतैबाट पनि चन्दा नउठाएको विवरण तयार गरेको छ भने २०७६/७७ मा व्यक्तिगत (स्वदेशी) बाट नगद ३८ लाख ४४ हजार ९ सय ८२ र संस्थागत (स्वदेशी) बाट ३ लाख ८७ हजार ६ सय ९५ रुपैयाँ चन्दा/सहयोग उठाएको हिसाब राखेको छ । यो पार्टीले २७ हजार ९ सय ९९ रुपैयाँको सामग्री बुझेको हिसाब पनि उतारेको छ ।

सीपी मैनाली नेतृत्वको नेकपा (माले) ले पनि कतैबाट चन्दा र सहयोग नलिएको आफ्नो लेखा परीक्षणमा उल्लेख गरेको छ । केन्द्रीय समितिका पदाधिकारीले लेबीबाहेक १ लाख ७५ हजार रुपैयाँ पार्टीलाई सहयोग गरेको आर्थिक विवरण उसले तयार गरेको छ । मालेले उल्टै १३ जनालाई ७ लाख ८२ हजार रुपैयाँ सापटी दिएको देखिन्छ । एक जनाले २ लाख रुपैयाँसम्म सापटी लगेका छन् ।

नेपाल मजदुर किसान पार्टीले भने सातौं महाधिवेशनका लागि भन्दै २०७६/७७ मा १५ लाख ७७ हजार ६५ रुपैयाँ चन्दा उठाएको छ । उसले २०७५/७६ मा १० लाख ५५ हजार रुपैयाँ चन्दा उठाएको देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६/७७ मा ४ लाख २५ हजार र २०७५/७६ मा ७० लाख ३० हजार रुपैयाँ चन्दा/सहयोग संकलन गरेको छ । राष्ट्रिय जनमोर्चाले २०७६/७७ मा कतैबाट पनि सहयोग नलिएको आर्थिक प्रतिवेदन तयार गरेको छ । २०७५/७६ मा भने व्यक्तिगत रूपमा ८ लाख ३० हजार ४ सय ४६ रुपैयाँ उठाएको थियो । परिवार दलले पनि २०७६/७७ मा ३ लाख २० हजार र २०७५/७६ मा ६ लाख १२ हजार रुपैयाँ चन्दा उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर