काठमाडौं । दुई वर्षअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा अध्यक्ष पदको प्रत्यासी हुँदा कुल आचार्यले ठूला–ठूला वाचा गरेका थिए। उनले एनआरएनएको आफ्नो प्यानलमा मात्र होइन, राजनीतिक दलका नेताहरूलाई लोभ्याउन ठूलै पासा फ्याँकेका थिए।

तर, वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएपछि एनआरएनएको गतिविधिबाट एकाएक हराएका आचार्य पुनः अध्यक्ष पदमा उठ्ने तयारीमा छन्।

तर, यतिबेला चुनावी माहोल उनले सोचे जस्तो सहज देखिदैन। विगतमा राजनीतिक दलसँग गरेको कुनै पनि वाचा पूरा गर्न नसकेका आचार्य आफ्नो प्यानललाई पनि एकजुट राख्न सकेको देखिदैन।

कुनैबेला उनकै प्यानलमा रहेकी रविना थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छिन्। आचार्य गत चुनावमा नेपाली कांग्रेसको बलियो समर्थनका कारण अध्यक्ष पन्तलाई दह्रो टक्कर दिन सफल भएका थिए। तर, यसपालि कांग्रेसकै अर्को बलियो उम्मेदवार रविनाको उम्मेदवारीले उनको निन्द्रा उडेको छ।

गत चुनावमा झिनो अन्तरले पराजित भएपछि आफ्नो टिमसँग लगातार सम्पर्कमा नरहनु आचार्यको ठूलो कमजोरी भएको उनी निकट पदाधिकारी बताउँछन्। पछिल्लो समय युरोप तथा अमेरिका जस्ता देशहरूको शाखाको चुनाव हुँदा उनले खेलेको नकरात्मक भूमिकाले पनि यतिबेला उनको चुनावी अभियानलाई कमजोर बनाएको छ।

एनआरएनएको चुनाव आगामी अक्टोबरमा हुँदैछ। बेलायतलाई आफ्नो कर्मथलो बनाएका आचार्य अध्यक्ष पदको उम्मेदवारी दिन यतिबेला नेपालमा छन्। उनी यसै महिना कांग्रेसी नेता तथा टिमका अन्य सदस्यसँग कुराकानी गर्न नेपाल आएका हुन्। तर, उनको यो अभियान सोचे जस्तो सफल हुन सकिरहेको छैन। यसको पछिल्लो उदाहरण हो, होटल याक एण्ड यतिमा गर्ने भनिएको भब्य कार्यक्रम। उनले यही कार्यक्रममार्फत उम्मेदवारीको घोषणा गर्ने तथा आफ्नो टिम सार्वजनिक गर्ने बताइएको थियो।

तर, टिमका बलिया सदस्यहरूले उनको प्यानल छोडेपछि उनलाई उम्मेदवारी दिन हम्मे–हम्मे परेको छ।

उनी यतिबेला आफ्नो टिम मिलाइदिन नेता तथा कार्यकर्ताको ढोकाढोका चाहर्न व्यस्त छन्। तर, पहिले नै नेताहरूसँग गरेको प्रतिबद्धता पूरा नगरेका कारण उनलाई गाह्रो परिरहेको उनी निकट पदाधिकारी नै बताउँछन्। उनको अगाडि नेताहरूले ‘नाई’ नभनेपनि कुरा नबढेपछि यतिबेला उनी बिलखबन्दमा परेका छन्।

घोषणाको मिति घर्किदै जाँदा उनीसँग हिँडिरहेका केही सदस्य पनि भड्किने सम्भावना बढेर गएको छ। आचार्यको टिममा हाल विगतमा नराम्ररी पराजित भएका अनुहारकै बाहुल्यता देखिन्छ। फेरि पराजित सदस्यहरूको महत्वकांक्षा चुलिँदा आचार्यलाई टिम सम्हाल्न धौ–धौ परिरहेको छ।

आचार्यको टिममा बसेर महासचिव पदमा पराजित भएकी जानकी गुरुङले यसपालि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन्। दुई वर्षअघि चुनावमा पराजित भएपछि लगभग निस्क्रिय भएकी गुरुङको उम्मेदवारीका कारण टिमका अन्य सदस्य त्यति खुसी देखिदैनन्।

यस्तै अघिल्लो चुनावमा उपाध्यक्ष पदमा पराजित अमेरिकाका केशव पौडेलले यसपालि महासचिवमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यसले आचार्यको प्यानललाई थप कमजोर बनाउने पक्का छ। पौडेलको घोषणाले आचार्य प्यानलका अन्य सदस्य त्यति खुसी देखिदैनन्।

आचार्य यतिबेला नेपाली कांग्रेसको आर्शिवाद पाउन दौडधुपमा लागेपनि एनआरएनएमा डेमोक्र्याटको छुटै छवी बनाएका महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ, महिला उपाध्यक्ष यसमिन बेगम र जापानबाट पारसमणि पोखरेल जस्ता उम्मेदवार उनीसँग नहुनु ठूलो घाटा हो। यसले आचार्यको चुनावी अभियानलाई सुरुवातमै कमजोर बनाइसकेको छ।

एनआरएनमा लामो समयदेखि कार्यरत पदाधिकारीहरु सामूहिकताभन्दा पनि एकल निर्णयमा हिँड्न खोज्दा आचार्यको अवस्था कमजोर भएको औल्याउँछन्। उनीहरु दुई वर्षअघि एनआरएनएमा आचार्यले पाएको भोटलाई यसपालि कायम राख्न नसक्ने ठोकुवा गर्छन।

प्रतिक्रिया

सम्बन्धित खवर