सत्ता गठबन्धन फेरिएसँगै वामपन्थी एकताको पहल शुरु भएको भन्दै नेताहरुले अभिव्यक्ति दिएका छन् । कांग्रेससहितको सत्ता गठबन्धन फेरिएपछि भित्रिएको एमाले वामपन्थी एकताका लागि राजी होला ? वामपन्थी एकता तत्काल सम्भव नभएको दाबी गर्ने एमाले पंक्ति सत्तायात्रासँगै एकतामा जान राजी होला ? प्रश्न र आशंका ब्यापक देखिन्छन् ।

कांग्रेससँगको सत्ता गठबन्धन टुटेसँगै फेरि वामपन्थी एकताको चर्चा चुलिएको छ । वामपन्थी एकताको विषयको सकारात्मक पहल भन्दै सार्वजनिक अभिव्यक्तिलाई कसरी लिने ? अन्योलता व्याप्त देखिन्छ । बालुवाटारमा दौडधुप चलिरहेको बेला चलेको वामपन्थी एकताको चर्चा सत्ता गठबन्धनलाई जोडेर हेर्ने दृष्टीकोणमा माओवादी नेता देवेन्द्र पौडेल उत्साहित देखिन्छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पनि सत्ता गठबन्धन फेरिएको विषयमा वामपन्थी एकताकै विषयलाई उठाएको भनिएको छ । प्रचण्डले एमालेले रियलाइजेशन गरेर आएको विषयदेखि कांग्रेसले सरकार सञ्चालनमा सहयोग नगरेका कारण वामपन्थी एकताको पहल स्वरुप गठबन्धन फेरिएको दाबी गरेका छन् । गठबन्धनमा फेरिएको स्थितिले एमालेको मिसन ०८४ लाई कुनै असर नपार्ने भन्दै देश अब अलि छिटोछिटो अघि बढ्न खोजेको दाबी पनि गरिएको छ ।

यता प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी एकताको पहल गर्ने काम शुरु गरिएको दाबी गरे ।

सत्ता गठबन्धन फेरिएसँगै चलेको वामपन्थी एकताको विषय यत्ति सहज भने छैन । वामपन्थी एकता गर्न दलहरु तयार भएपनि प्राविधिक विषयमै चल्ने विवादमा कारण उनीहरु एकीकृत भइहाल्छन् भन्ने विश्वास गर्न जटिल छ ।

वाम एकता

तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको पार्टी एकता लामो समयसम्म टिक्न सकेन् । सत्ताको लुछाचुडीकै कारण एमाले–माओवादी केन्द्रबीचको एकता भङ्ग भएको थियो । त्यसपछि प्रचण्ड र केपी ओलीबीच केहि समय तिक्तता बढ्यो । अन्ततः राजनीतिक रुपमा उनीहरु फेरि जोडिने छुट्टिने गरिरहेका छन् । यस्तोमा चलेको वामपन्थी एकताको हावा सत्तारोहणमै बिलिन बन्ने आशंका धेरैले गर्ने गरेका छन् ।

समाजवादी मोर्चा

शक्ति सञ्चय गर्नका लागि समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्ड वामपन्थी एकता भन्दै एमालेसँग कुम जोड्न पुगेका छन् । एमाले समाजवादी मोर्चालाई स्वार्थको गठबन्धन भन्दै आएको पार्टी हो । जसमा माधव नेपाल समेत छन् । यस्तोमा समाजवादी मोर्चाको भविष्य के होला ? भन्ने अन्योलता भने छाएको छ । समाजवादी मोर्चाको नेतृत्व गरिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच कस्तो सम्बन्ध स्थापित होला भन्ने विषय समेत चासोमा छ । यस्ता विषयलाई प्राविधिक रुपमा मिलाउन नसक्दासम्म वामपन्थी एकता तत्काल हुने सम्भावना त्यति बलियो भने छैन् । यद्यपी सत्तायात्रामा सहमति जुटेपछि एकता नहोला भन्न सकिने स्थिति भने छैन् ।

वामपन्थी एकतामा स्वार्थको गठजोड

संसदीय राजनीतिमा भारतका नितिस कुमारलाई समेत माथ दिने गरि अघि बढिरहेका प्रधानमन्त्री प्रचण्डमाथि अस्थिर नेताको आरोप लाग्ने गर्छ । भावुक अनि अस्थिर नेताको आरोप खेपिरहने प्रचण्डमाथि फेरि यस्तै आरोपलाई पुष्टी हुने घटना घटेको छ । राजनीतिक रुपमा तर्क दिएर उम्किन खोजेपनि सत्ता गठबन्धनमा भइरहेको उलटफेर वामपन्थी एकताका लागि नै थियो भने, भेद नै नखुलेको भन्दै आरोप खेपिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी कसरी सामेल हुन पुग्यो ? कम्युनिष्ट पार्टी दाबी गर्ने नेकपा एकीकृत समाजवादी कसरी छुट्यो ? प्रश्न तमाम भएपनि यसको जवाफ समयक्रमसँगै आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर