१० असोज २०७७, शनिवार,

राजधानी दैनिकबाट

काठमाडौं ,कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।

जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।

दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हँुदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ । कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।

– हटेन बिचौलियाको दादागिरी
– चिनी र तरकारीमा अत्यधिक कालोबजारी
– सरकारी अनुगमन संयन्त्र कमजोर
– नुनदेखि सुनसम्ममा नै तस्करी
– लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि
– सरकारी निकायबीच छैन समन्वय

माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।

‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले राजधानीसँग भनिन् ।

राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हँुदै गएको छ । भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ । बजारमा मनलाग्दी हँुदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’

लामो लकडाउनका क्रममा राजधानीमा रहेकामध्ये ४० प्रतिशत व्यक्ति गाउँ फर्किएका छन् । विभिन्न पेसा र मजदुरी गर्दै आइरहेका उनीहरू राजधानीमा जीवन धान्न मुस्किल हुने भन्दै गाउँ फर्किएका हुन् । अहिले पनि यहाँ महँगी अत्यधिक बढ्न थालेपछि कैयौं व्यक्ति धमाधम आफ्नै गाउँ फर्कन थालेको बताइएको छ ।

राजधानी काठमाडांैमा वाणिज्य विभाग, तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय, काठमाडौं तथा ललितपुर महानगरपालिका तथा अन्य नगरपालिका र गाउँपालिकाबीच उचित समन्वय नहुँदा बजारमा अनुगमन प्रणाली सशक्त हुन सकेको छैन । देशका अन्य सहर तथा गाउँमा पनि राजधानीकै जस्तो समस्या हुँदा बजार अनुगमन निस्प्रभावी जस्तै छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नुनदेखि सुनसम्मका वस्तु बिचौलियाको नियन्त्रणमा भएकाले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर हुँदै गएको बताए । तीनवटै सरकारका निकायबीच आपसी समन्वय हुन नसक्दा बजारमा कालोबजारी र तस्करी मौलाउँदै गइरहेको उनको दाबी छ । महर्जनका अनुसार अहिले उपत्यकामा चिनीको मूल्य १ सय रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङले प्रतिकेजी ७३ रुपैयाँमा चिनी बिक्री गर्ने गरेको छ । यसैगरी प्रतिकिलो ६० रुपैयाँमा पाइने तरकारीको मूल्य १ सय २० रुपैयाँसम्म पुगेको छ ।

‘बजार पूर्ण रूपमा बिचौलियाको नियन्त्रणमा पुगेको छ, सरकारी निकायले सुशासन चाहेकै छैन । सरकारी निकायहरू निष्क्रिय जस्ता देखिएका छन्, जुन लज्जाको विषय हो,’ महर्जनले राजधानीसँग भने ।

साल्ट ट्रेडिङका अनुसार अहिले चिनीको मागअनुसार स्टक निकै कम छ त्यसैले पनि चिनीको मूल्य अकासिएको हो । बजारमा २० हजार मेट्रिक टन चिनीको माग रहेको भए पनि साल्ट ट्रेडिङसँग हाल ८ सय मेट्रिक टन मात्रै चीन मौज्दात रहेको साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर व्रजेशकुमार झाले बताए ।

सरकारले चिनी समयमै आयात गर्न नसक्दा समस्या भएको साल्ट ट्रेडिङको भनाइ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बजारमा, यात्रामा र वितरण प्रणालीमा सुशासन कायम गर्नुपर्ने बताए । दाहालले अहिले ती क्षेत्रमा सोचेअनुसार सुधार हुन नसकेकाले अब उच्चस्तरिय संयन्त्र बनाएर नियमित अनुगमन गरी सुशासन कायम गरिने दाबी गरे ।

नागरिकका गुनासा सम्बोधन गरेर अघि बढ्ने उनले बताए । बजारमा सुशासन ल्याउन माग र आपूर्तिको अवस्था मिलाउनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले त्यस विषयमा सरकारले उच्चस्तरबाट सोच्नुपर्ने आवश्यकता औंल्याए ।

वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजार अनुगमनलाई प्रभावकारी बनाउनकै लागि विभागले बजार अनुगमन कार्यविधि बनाएको र त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर