४असाेज (राजकरण महताे)अन्नपूर्ण पोस्ट बाट )                        जनकपुर: कोरोनाको महामारीले आतंक मच्चाएको मात्रै छैन, युवाहरुका लागि केही अवसर पनि सिर्जना गरेको छ

यो ऐतिहासिक संकट र चुनौतीलाई महोत्तरीको बर्दिबासका केही युवाले असवरको रुपमा बदलिदिएका छन् । कडा घाम या झरी । दिन होस् वा मध्य रात । युवाहरुको समूह हातमा कोदालो, बेल्चा, गैंती लिएर स्कुलको बाल उद्यान निर्माण जुटिरहेको देख्दा जोसुकैलाई हौसला मिलिरहेको हुन्छ ।

‘युवाको एकता, देशको सफलता’ नारासहित जनसहयोगी युवा सञ्जाल बर्दिबासका युवाहरु सामाजिक र रचनात्मक काममा एकजुट भएका हुन् । भोकालाई भोजन, गरिवलाई राहत, विरामीलाई रक्तदान, अस्पताल सरसफाइ, विद्यालय निर्माण जस्ता काममा उनीहरु रातदिन नभनी जुटिरहेका छन् ।

विद्यालयमा बालउद्यान

महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बिगत ७९ दिनदेखि युवाहरुले बालउद्यान निर्माण गरिरहेका छन् । उनीहरुले हालै चिल्ड्रेन पार्क, खैलमैदान, गार्डेन, मञ्च, पार्ककिङस्थल, चमेनागृह निर्माण गरिरहेका छन् ।

५० लाखको योजना छ तर, हातमा योजना पूरा गर्ने आत्मबल, इच्छाशक्ति, उद्देश्य बाहेक केही छैन । ‘मुठ्ठी दान’ अभियान सञ्चालन गरेर जनस्तरबाटै विद्यालय निर्माणमा युवाहरु जुटेका छन् ।

‘गाउँलेहरुले आफ्नो गाँस कटाएर छोराछोरी पढ्ने स्कुल निर्माणमा सहयोग गरिरहेका छन् । व्यवसायीहरुको व्यपार ठप्प छ तर, पनि हामी युवाहरुको रचनात्मक काम देखेर सहयोग गर्ने हातहरु थपिँदैछन्,’ मुठ्ठी दान अभियनाका संयोजक तथा सञ्जालका महासचिव सुरेन्द्र साहले भने ।

युवाको सपना पूरा हुँदै

हालसम्म बालउद्यानको ६७ प्रतिशत काम पूरा भइसकेको छ । कसैले ईट्टा त कसैले बालुवा–गिट्टी त सिमेन्ट सहयोग गरेका छन् । कसैले दोजर–ट्रयाक्टर, कसैले श्रमदान गरेर बालउद्यानको निर्माणलाई युद्धस्तरमा अगाडी बढाइदिरहेका छन् ।

लगातार १७ दिन लगाएर खेलमैदान तयारी गरिएको छ । त्यसमा ५ लाख खर्च भएको छ । मैदान सौन्दर्यका लागि चारैतिर गार्डेन बनाइएको छ । स्कुल पाङ्गणमा रहेको पिपलको बोटमा तीन लाखको लागतमा चौतारा निर्माण गरिएको छ । बाटाघाटो सहितको १० कठ्ठा क्षेत्रफलमा बालउद्यान तथा  हरियाली पार्क निर्माण हुँदैछ ।

जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतो भन्छन्, ‘मनकारीहरुको सहयोग थपिँदै गएको छ । सहयोग पाएर हामी हौसिएका छौँ । चाँडै निर्माण काम सम्पन्न हुन्छ ।’ कोरोना भाइरसको महामारी सकिएपछि विद्यार्थीलाई नयाँ उपहार स्वरुप बालउद्यान प्रदान गर्ने अध्यक्ष महतो बताउँछन् ।

तीन पुस्तापछि विद्यालय फेरिँदै

तीन पुस्तामा रुपान्तरण हुन नसकेको विद्यालय कोरोना महामारी बीच नमूना बन्दै गएकोे देखेर गाउँले दंग परेका छन् । ‘हाम्रो गाउँको विद्यालय अब नमूना बन्दै छ । अब निजी स्कूलमा बच्चा पढाउनु पर्ने बाध्यता हट्छ,’ स्थानीय रामईश्वर महतो भन्छन् ।

बालउद्यान निर्माणमा हालसम्म २० लाख ६४ हजार २ सय ७० रुपैयाँ खर्च भइसकेको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले जनाए । उनका अनुसार हालसम्म १४ लाख ९१ हजार ३ सय १३ रुपैयाँ नगद र जिन्सी गरी चन्दा संकलन भएको छ । ५ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ बाक्यौता तिर्नु पर्नेछ ।

अभाव पूरा गर्न गीत सिर्जना

‘मुठ्ठीदान’ अभियानबारे सचेतना बढाउन अहिले स्थानीय लोकभासा मगहीमा ‘विद्यालय निर्माणमें चलु सबकोइ जुटियौ’ बोलको म्युजिक भिडियो समेत सिर्जना गरिएको छ । अमृतकुमार महतोको रचना रहेको यस गीतमा कृष्ण महतोले निर्देशन गरेका छन् । गीतमा  बिजय दासले स्वर दिएका छन्  । यूट्यूबमा राखिएको यो गीत कर्णप्रिय छ । साथै सिर्जनात्मक काममा लाग्न सबैलाई अपिल गरिएको छ ।

यसरी जुटे युवाहरु अभियानमा

कारोना भाइरसका कारण लकडाउन गरियो । पढाइ बन्द भयो । व्यवसाय ठप्प भयो । रोगजार उद्योगमा ताला लाग्यो । सबै गाउँ फर्किए  । बन्दाबन्दी बढ्दै गयो । गाँस अभाव हुन थाल्यो ।

आर्थिक अभावको ग्राफ उकालो लाग्यो । भोको बस्ने दिन बढ्दै गयो । मागेर जीवन चलाउनेहरु सडकपेटीमा भोकै परे । मगन्ते जीवन बाँच्नेहरु सडक, बजारमा विरामी परे । कमाइको अभावमा गरिवहरुको चुलो निभ्न थाल्यो । लकडाउनले सिर्जना गरेको यस्तो अवस्थालाई  युवाहरुले नियालिरहेका थिए । ‘पीडामा परेकाहरुका लागि अब केही गर्नु पर्छ’ भन्दै खेतको चौरमा साँझ युवाहरु जम्मा भए । त्यसपछि गत जेठ ७ गते गठन भयो, परोपकारी संस्था ‘जनसहयोगी युवा सञ्जाल’

भोकालाई भोजन, विरामीलाई रगत

संस्था त गठन भयो तर, पीडामा परेकाहरुलाई सहयोग गर्न आर्थिक श्रोत भएन । युवाहरुले आफ्नै गोजीबाट २–४ हजार रुपैयाँ निकाले कोष खडा गरे । सञ्जालकी उपाध्यक्षम पूजा साहका अनुसार, सहयोगी हातहरुको सहयोग लिँदै लगातार २५ दिनसम्म सकडपेटीमा भोकै रहेका ८ सय ८७ जना १ लाख ७२ हजार खर्चेर उनीहरुले भोजन गराए ।

‘५५ विपन्न परिवारलाई सात क्वीन्टल ६० किलो चामल, ६५ किलो दाल, ५५ वटा साबुन, ३० लिटर तेल, ५५ किलो नुन उहाँहरुको भान्छामा पठायौँ,’ साहले भनिन् । राहत बाँड्दा ५८ हजार ९ सय ३२ रुपैयाँ खर्च भएको उनी सुनाउँछिन् । साथै ४० पिन्ट रगत संकलन गरेर रेडक्रस मार्फत विरामीलाई रगत उपलब्ध गराए । २ जनालाई विरामीलाई उद्धार गरेर हस्पिटल भर्ना गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर