शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।

नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बिहीबार राति बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्।

उनी नेतृत्वको सरकारमा रहने अन्य सल्लाहकार सदस्यहरूले पनि शपथ लिएका छन्।

बंगलादेशी अखबार ‘द डेली स्टार’ का अनुसार युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन्।

त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।

युनुस नेतृत्वको अन्तरिम सरकारमा रहेका १५ सदस्यहरूको पृष्ठभूमि के हो भनेर यहाँ संक्षिप्त रूपमा चर्चा गरेका छौं।

डा. सलेहुद्दिन अहमद

सलेहुद्दिन अहमद बंगलादेश बैंकका पूर्वगभर्नर हुन्। उनी ब्राक विजनेश स्कुलमा प्राध्यापकसमेत छन्। उनले बंगलादेशको विभिन्न सरकारी निकायमा रहेर लामो समय कामसमेत गरेका छन्।

उनी सन २००५ देखि २००९ सम्म बंगलादेशको गभर्नर थिए।

एएफ हसन आरिफ

हसन आरिफ वरिष्ठ अधिवक्ता हुन्। बंगलादेशको सर्वोच्च अदालतमा सन् १९७० देखि वरिष्ट अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्।

सन् २००१ देखि सन् २००५ सम्म उनी बंगलादेश नेश्नलिष्ट पार्टी (बिएनपी) नेतृत्वको सरकारमा महान्यायाधिवक्ता थिए। सन् २००८ देखि २००९ सम्म तत्कालीन अन्तरिम सरकारका कानुनी सल्लाहकार पनि बनेका थिए।

उनले भारतको पश्चिम बंगालस्थित कलकत्ता उच्च अदालतबाट सन् १९६७ मा आफ्नो करियर सुरूवात गरेका थिए। सन् १९७० मा ढाका फर्केर त्यहाँको उच्च अदालतमा वकलती सुरू गरेका थिए।

उनी अन्तर्राष्ट्रिय अदालतका सदस्य पनि हुन्।

मोहम्मद शेखावत हुसैन

मोहम्मद शेखावत हुसैन बंगलादेशका पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्। उनी बंगलादेश सेनाका निवृत्त ब्रिगेडियर जनरलसमेत हुन्।

सन् १९६६ मा पाकिस्तान मिलिटरी एकेडेमी काकुलबाट पाकिस्तानी सेनामा भर्ती भएका थिए। बंगलादेश स्वतन्त्र भएपछि सन् १९७२ मा उनी बंगलादेशको सेनामा भर्ति भएका थिए।

उनी सन् २००७ मा  निर्वाचन आयुक्तमा नियुक्त भएपछि उनले २०१२ सम्म काम गरेका थिए। सखावतले सैन्य संचालन निर्देशनालयमा लेफ्टिनेन्ट कर्नेलका रूपमा कामसमेत गरेका थिए।

सेवानिवृत्त भएपछि उनी राष्ट्रिय सुरक्षाका अनुसन्धानकर्ता, स्तम्भकार र सुरक्षा विश्लेषक बने। उनले  २६ वटा पुस्तकसमेत लेखेका छन्।

एम. तौहिड हुसेन

७० वर्षीय मोहम्मद तौहिद हुसेन बंगलादेशका पूर्वविदेश सचिव हुन्।

हुसेन सन् २००१ देखि २००५ सम्म कोलकातामा बंगलादेशका उपउच्चायुक्त नियुक्त भएका थिए र सन् २००६ देखि २००९ सम्म बंगलादेशको विदेश सचिवका रूपमा काम गरेका थिए।

जुन २०१२ मा, हुसेन दक्षिण अफ्रिकामा बंगलादेशको उच्चआयुक्त नियुक्त भएका थिए।

उनी सञ्चारमाध्यममा अन्तर्राष्ट्रिय मामिलामा नियमित टिप्पणीकार हुन् र डेली स्टार, प्रथम आलो र अन्य समाचार आउटलेटका लागि स्तम्भ लेख्छन्। उनी क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका अनुसन्धानकर्ता पनि हुन् ।

फरिदा अख्तर

फरिदा अख्तर अधिकारकर्मी हुन्। उनले सन् १९८० को दशकदेखि महिला अधिकारका लागि आवाज उठाइरहेकी छन्।

उनले सन् १९९५ मा दिनाजपुरमा प्रहरीले १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा विरोध गरेकी थिइन्। उनकै नेतृत्वमा त्यतिबेला त्यहाँ ठूला प्रदर्शनहरू भएका थिए।

उनले अर्थशास्त्रमा स्नातक गरेकी छन् । फरिदाले महिला अधिकार सम्बन्धमा विभिन्न पुस्तकसमेत लेखेकी छन्।

शर्मीन मुर्शिद

शर्मीन मुर्शिद प्रख्यात चुनाव विशेषज्ञ र चुनावको अनुगमन गर्ने संस्था ‘ब्रोटी’ का प्रमुख कार्यकारी अधिकृत हुन्। उनी ढाका विश्वविद्यालयका प्राध्यापक पनि हुन्।

मुर्शिद लामो समयदेखि स्वतन्त्र र निष्पक्ष निर्वाचनका साथै खुला लोकतन्त्र र मुलुकमा लोकतान्त्रिक संस्थाको सुदृढीकरणका लागि वकालत गर्दै आएकी छन्।

शइदा रिजवाना हसन

शइदा बंगलादेशको सर्वोच्च अदालतका अधिवक्ता तथा बंगलादेश इन्भाइरोमेन्टल लयर्स एशोसियशनका प्रमुख पनि हुन्। उनी पर्यावरणको क्षेत्रमा वकालत गर्दै आएकी छन्।

टाइम म्यागजिनले सार्वजनिक गरेको विश्वका ४० वातावरणीय नायकमा उनी पनि समेवश थिइन्। उनले विभिन्न गैरसरकारी संस्थाको प्रमुख भूमिकामा रहेर काम समेत गरेकी छन्।

नूरजहान बेगम

नुरजहान बेगम गरिबहरूलाई ऋण दिनका लागि ग्रामीण बैंक स्थापना गर्दाताकाका युनुसका मुख्य सहयोगी हुन्।

सन् १९७६ मा चित्तगंग युनिभर्सिटीमा विद्यार्थी रहँदा उनले गाउँका गरीब महिलाहरूलाई ग्रामीण बैंकमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

महिलाहरूलाई घरबाहिर निस्कन र श्रीमानबाहेक अन्य पुरूषसँग बोल्नसमेत बन्देज रहेको समयमा नुरजहान चितगङ, टांगेल, रंगपुर क्षेत्रमा गएर त्यहाँका गरिब किसानहरूलाई ग्रामीण बैंकबाट ऋण लिन सकिने र त्यसलाई सदुपयोग गरेर आर्थिक उन्नति गर्न सकिनेबारे बताउँदै हिँड्थिन्।

उनले नोबेल पुरस्कार विजेता संस्थाको उपप्रबन्ध निर्देशकको रूपमा काम गरिन् र २०११ मा युनुस सेवानिवृत्त भएपछि नुरजहान कार्यवाहक एमडी भइन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरूसमेत पाएकी छन्।

आशिफ नजरूल

आसिफ नजरुल ढाका विश्वविद्यालयको कानुन विभागका संकाय प्रमुख हुन्।

उनले ढाका विश्वविद्यालयबाट एलएलबी र एलएलएम गरेका छन्। उनले सन् १९९९ मा स्कूल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीजबाट अन्तर्राष्ट्रिय कानुनमा पीएचडी गरेका थिए।

सन् १९९१ मा ढाका विश्वविद्यालयमा भर्ना हुनुअघि उनी त्यतिबेलाको चर्चित समाचार साप्ताहिक विचित्रमा पनि उनले काम गरे।

नजरुल एक लोकप्रिय स्तम्भकार र मानव अधिकारकर्मी हुन्। उनी सन् २०११-१७ सम्म दक्षिण एसियाली मानव अधिकार आयोगको ब्यूरो सदस्य थिए।

उनले बंगलादेशमा इयु प्रतिनिधिमण्डल, युएनडिपी, एडिबी लगायतका संस्थाहरूमा सल्लाहकारको रूपमा काम गरेका छन्।

नजरलले हालैको कोटा भेदभाव विरोधी विद्यार्थी आन्दोलनलाई सक्रिय रूपमा समर्थन गरे र प्रदर्शनकारीहरूको पक्षमा विभिन्न कार्यक्रमहरूमा भाग लिएका थिए।

आदिलुर रहमान खान

आदिलुर रहमान खान सर्वोच्च अदालतका वकिल र मानव अधिकारकर्मी हुन्।

२०१३ मा राजधानीको मोतिझिलमा भएको जुलुसमा पक्राउ परेका उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।

लेफ्टिनेन्ट जनरल हुसेन मोहम्मद एरशादविरुद्धको लोकतान्त्रिक आन्दोलनमा पनि उनी अगुवामध्येका एक हुन्।

खानले ढाका विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए। उनी बिएनपी नेतृत्वको सरकारको पछिल्लो कार्यकालमा नायव महान्यायाधिवक्ता समेत थिए।

फारूक-ए-आजम

फारुक-ए-आजम सन् १९७१ मा बंगलादेश स्वतन्त्र युद्धका लडाकू हुन्।

उनी चट्टोग्राम बन्दरगाहमा पाकिस्तानी सेनाविरुद्धको सबैभन्दा ठूलो अपरेसनहरूमध्येको ‘अपरेसन ज्याकपट’ का सहायक कमान्डर थिए।

विधान रञ्जन रोय पोद्दार

विधान रञ्जन रोय पोद्दार मनोचिकित्सक हुन्।

उनी ढाकास्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड हस्पिटलका पूर्व निर्देशक पनि हुन्।

उनले सर सलिमुल्लाह मेडिकल कलेजबाट एमबीबीएस डिग्री हासिल गरेका थिए।

पोद्दारले मार्च २०२० देखि जुलाई २०२३ सम्म नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड हस्पिटलमा मनोचिकित्सा विभागको निर्देशकको रूपमा काम गरे।

उनी ढाकाबाहिर रहेकाले शुक्रबारको शपथ ग्रणहमा सहभागी हुन सकेनन्।

 खालिद हुसेन

एएफएम खालिद हुसेन इन्टरनेशनल इस्लामिक युनिभर्सिटी चटगाउँमा कुरानिक विज्ञान र इस्लामिक अध्ययन विभागका प्राध्यापक हुन्।

हुसेन अहिले चट्टोग्रामको पाटिया उपजिल्लाको अल जामिया अल अरबिया जिरीमा मुहद्दिथको रूपमा सेवा गरिरहेका छन् र चट्टोग्रामको हलिसहरमा रहेको हदरत उस्मान जामे मस्जिदमा खतीब छन्।

सन् १९५९ मा सातकनिया उपजिल्लाको बाबु नगर गाउँमा जन्मेका उनले चटगाउँ विश्वविद्यालयको इस्लामिक इतिहास र संस्कृति विभागबाट एमए र बीए गरी २००६ मा सोही विश्वविद्यालयबाट पीएचडी गरेका थिए।

उनले मासिक अत तौहीदको सम्पादकको रूपमा पनि काम गरेका थिए र बंगलादेश टाइम्स र दैनिक समाचारका लागि संवाददाता थिए। उनी इस्लामिक फाउन्डेशनमा इस्लामिक इन्साइक्लोपेडियाको सम्पादकीय बोर्डमा थिए।

सुप्रदीप चकमा

सुप्रदीप चकमा पूर्वराजदूत र चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष हुन्।

उनले यसअघि भियतनाम र मेक्सिकोका लागि बंगलादेशका राजदूतका रूपमा काम गरिसकेका छन् ।

नाहिद इस्लाम

नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन्। उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन्। उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे। पार्टीमा आबद्धहरूलाई उनले ‘आतंककारी’ को संज्ञा दिएका थिए।

शाहबाग क्षेत्रमा सरकारविरोधी प्रदर्शन क्रममा उनले भनेका थिए, ‘अहिले विद्यार्थीहरूले लाठी बोकेका छन्। हामी हतियार बोक्न पनि तयार छौं।’

नाहिदका यस्तै आक्रोशपूर्ण अभिव्यक्ति र ऊर्जाले थुप्रै विद्यार्थी र युवा जमात प्रदर्शनमा थपिँदै गए।

उनले यो आन्दोलनमा प्राण भर्न सामाजिक सञ्जालको भरपुर उपयोग गरे। खासगरी फेसबुकमा उनी आफ्ना समर्थकहरूसँग नियमित कुराकानी र छलफल गर्थे। उनीहरूलाई ऐक्यबद्ध ढंगले सरकारविरूद्ध ओर्लिन आह्वान गर्थे। उनका पोस्टहरू ऐक्यबद्धता र आन्दोलनमा घाइते भएकाहरूको सहायताका लागि हुन्थ्यो।

यो क्रम बढ्दै गएपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो। उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो। आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो।

त्यति बेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए।

यो घटनाको सातादिन नबित्दै जुलाई २६ मा गोनोष्ठय अस्पतालबाट उनलाई दोस्रोपटक अपहरण गरियो। अपहरण गर्नेमा ढाका नगर प्रहरीको जासुसी शाखादेखि बंगलादेशका उच्च सैन्य बल संलग्न थिए। प्रहरीले भने आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ।

जुलाईमै भएको आन्दोलन क्रममा नाहिद र ढाका विश्वविद्यालयका केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी थप चर्चामा आएका थिए।

एक महिनादेखिको यस प्रदर्शनीमा करिब तीन सय विद्यार्थीले ज्यान गुमाएका छन्।

‘यो आन्दोलनमा जति विद्यार्थी सहिद भएका छन्, त्यसको मूल्य हामीले बुझेका छौं। कुनै पनि हातलमा हामी त्यो बलिदान खेर जान दिने छैनौं,’ नाहिदले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी नयाँ प्रजातान्त्रिक बंगलादेश बनाउनेछौं जहाँ हाम्रो जीवनको सुरक्षा, सामाजिक न्याय र नयाँ राजनीतिक परिवेश हुनेछ।’

आसिफ महमुद

आसिफ महमुद शोजिब पनि जुलाईदेखि  विद्यार्थी आन्दोलनका संयोजकहरूमध्येका एक हुन्।

उनले ढाका विश्वविद्यालयको भाषाविज्ञान विभागमा स्नातकोत्तर गरेका छन्। आन्दोलनकै क्रममा उनी केही दिन प्रहरी हिरासतमा समेत बसेका थिए।

सन् २०२३ मा भएको छात्रअधिकार परिषद्को पहिलो सम्मेलनमा उनी अध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर