रामचद्र नेपाल

पाल्पाको रामपुर नगरपालिका वडा नं. ५ सुन्दरटोल घर हुनुभएकी लक्ष्मी तिवारीको उमेर ७१ वर्ष पुगेको छ ।
तीन वर्षको उमेर हुँदा आमाबुबाको मृत्यु भएको कारण उहाँको बाल्यकाल मावली घर पाल्पाकै पूर्वखोलामा बितेको थियो ।
तिवारी आमाले पूर्वखोलामा रहेको उदवुद्ध माध्यमिक विद्यालयबाट कखरा चिन्नु भएको हो ।

त्यो बेलामा सानैमा विहे गर्ने चलन थियो ।

पढनु पर्छ भन्दा पनि छोरीहरुको विहे चाँडै गरिदिनुपर्छ भन्ने चलन भएको कारण उहाँको विहे पनि चौध वर्षको उमेरमा रामपुरकै डोलराज तिवारीसँग भयो ।
तिवारी आमाका श्रीमान भारतमा नोकरी गर्नुहुन्थ्यो । बेला बेलामा घर खर्च पठाउने गर्नुहुन्थ्यो ।

तिवारी आमाले रामपुरमा अरुको घरमा निमेक गर्ने देखि वाटो खन्ने सम्मको काम गरेर २ छोरा र एक छोरी हुर्काउनुभयो । छोराछोरीहरुको पढ्न इच्छा हुन्जेल पढाइदिनुभयो ।
आज जस्तो सञ्चार माध्यमहरु छयाप्छ्यापि थिएनन् ।

हातहातमा मोवाइल थिएनन्।

आफ्नै श्रीमानको चिठी पनि अरुलाई पढ्न लगाउनु पर्ने अवस्था पार गरेको र धेरै दःुख गरेर घर गरेको तिवारी आमा आज झलझली संझनुहुन्छ ।
रामपुरमा केही वर्ष अगाडि रेडियो खुलेको थियो ।

तिवारी आमालाई पनि रेडियोमा आफुले जानेको वुझेको कुरा भन्ने,गीत र भजनहरु गाउँने इच्छा थियो तर त्यसमा पुगेर कसरी भन्ने थाहा थिएन
यसैविचमा रामपुरमा पत्रकारिता गरिरहनु भएका वासुदेव ढकालले आमा तपाईले तिजका गीतहरु खुब गाउनुहुन्छ रेडियोमा आएर रेकर्ड गराउनु पर्यो भन्नुभयो ।

उहाँलाई रेडियोसम्म पत्रकार ढकालले लिएर जानुभयो ।
रेडियोमा त जानुभयो तर कसरी बोल्ने के बोल्ने थाहै थिएन् ।

निकै रातोपिरो हुनुभयो ।

पत्रकार ढकालले सामान्य घरमा बोलेजस्तै गरी बोल्न र गीत भजन गाउन भन्नुभयो उहाँले पनि निर्धक्क भएर आफुले जानेका गीत भजनदेखि बालनसम्म गाउनु भयो ।

उहाँ बोलेका कुरा जति सबै रेडियोबाट प्रसारण भैरहेको थियो उहाँ रेडियोवाट बाहिर निस्कँदा त लौ आमै तपाईले कति राम्रो गीत गाउनु भयो  भजन पनि उस्तै राम्रो भन्दै रेडियो सुनेकाहरुले तिवारी आमाको निकै प्रशंसा गरे ।

यसपछि उहाँ पटक–पटक रेडियोमा पुग्नुभयो र आफुले जानेका गीत,भजन, बालनहरु रेडियोबाट सुनाउन थाल्नुभयो ।

तीजको अवसरमा हुने प्रतियोगिताहरुमा भाग लिन थाल्नुभयो महिलाहरु जम्मा भएर तीजको गीत गाउन थालेपछि तिवारी आमाको खोजी हुन थाल्यो ।
यसैविचमा रामपुरमा महोत्सव भयो ।

तिवारी आमालाई पनि महोत्सवमा गीत गाउने अवसर मिल्यो ।

उहाँले धित खोलेर गीत गाउनुभयो ।

त्यो महोत्सवमा राष्टीय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।

गीत गाउन र हसाउन आईपुगेका पुर्खे बाबाट चर्चित बनेका पुरुपोत्तम भण्डारी पनि हुनुहुन्थो ।

उहाँले स्टेजबाटै तिवारी आमाका गीतहरु रेकर्ड गराउने भनेर घोषणा गर्नुभयो ।

पुरुषोत्तम भण्डारी पुर्खे बाले भने बमोजिम उहाँ गीत रेकर्ड गराउन काठमाण्डौ जानुभयो ।

यसभन्दा अगाडि उहाँ कहिल्यै पनि काठमाण्डौ जानु भएको थिएन् ।

उहाँलाई काठमाण्डौ लैजानको लागि डिजिटल स्टुडियोका शिव पाण्डेले निकै सहयोग गर्नुभयो ।

उहाँले काठमाण्डौमा गएर गीत रेकर्डिङ् गर्ने स्टुडियोमा गएर गीत रेकर्डिङ् गराउनु भयो ।

जुन गीत निकै चर्चीत भयो । त्यसपछि लगातार रुपमा उहाँले अहिलेसम्म पुर्खे बासँग मिलेर दशवटा भन्दा धेरै गीतहरु गाईसक्नु भएको छ लगाताररुपमा पानी मरुवा भाग ५ समेत आइसकेको छ ।
यो वर्षको तीजको लागि समेत उहाँले गीत रेकर्ड गराइसक्नु भएको छ ।

तिवारी आमालाई माइतीको माया भन्ने वोलको गीत केही दिनमा बजारमा आउने उहाँले वताउनुभयो ।

आफ्नो सानै देखिको रहर अहिले वुढेशकालमा पुरा भएकोमा उहाँ निकै खुशी हुनुहुन्छ ।

उहाँको गीतको यात्रामा परिवारका सवैले साथ र सहयोग गर्नुहुन्छ ।

तिवारी आमाले धेरै जसो गीतहरु आफै रच्नुहुन्छ भने त्यसको भाका समेत आफै हाल्नुहुन्छ ।

आफुलाई मौलिक गीतहरु असाध्यै मन पर्ने उहाँले बताउनुभयो ।
गीत गाएर धेरैले धेरै पैसा कमाएको पनि हामीले सुनेका छौ तर तिवारी आमाले भने कत्ति पनि पैसा कमाउनु भएको छैन ।

पुर्खे बाले भने आमा हो भनेर गीत गाए र शब्द तथा भाका गरिदिए वापत पैसा दिने गरेको उहाँले बताउनुभयो ।

पहिला पहिला बोल्न लजाउने र डराउने तिवारी आमा अहिले भने आफ्ना कुराहरु राख्न कसैसँग पनि डराउनु हुन्न। धित खोलेर बोल्नु पर्ने उहाँले बताउनुभयो ।
धेरै मानिसहरुका आफ्ना प्रतिभाहरु रहेका हुन्छन् ।

जसलाई उजागर गर्न नसक्दा त्यसै मरेर गएका छन् ।

तिवारी आमाले आफ्ना भएका प्रतिभाहरुलाई सबैको सामु राख्नुपर्ने र त्यसको कृति यस धर्तीमा छाड्नु पर्ने विचार राख्नु हुन्छ ।

निकै फरासिली र हँसिली अनि क्षणभरमै मौलिक गीत रच्न,गाउन सक्ने तिवारी आमाको विशेषता रहेको छ ।

उमेर छैन केही पनि गर्न सकिँदैन भन्नेहरुको लागि तिवारी आमाको जीवनवाट धेरै कुरा सिक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर