१२ भाद्र २०७७, शुक्रवार

दोलखाको मेलुङ गाउँपालिकामा गत असारको अन्तिम साता एउटै कुकुरले टोकेका १२ जनामध्ये तीनजनाको मृत्यु भएको छ । २७ असारमा एउटै कुकुरले टोकेका १२ जनामध्ये एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

कुकुरको टोकाइले दिनानुदिन अस्वस्थ हुदै गएपछि काठमाडौंको पाटन अस्पतालमा उपचार गराइरहेका बुधबार एक जना युवाको रेबिजकै कारण ज्यान गएको छ । मेलुङ ६ तिनपिप्ले स्थित गैरागाउँका अन्दाजी ३० वर्षीय रामचन्द्र भण्डारीको रेबिज संक्रमणकै कारण मृत्यु भएको सुचना आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

त्यस्तै सोहि दिन कुकुरले टोकेर घाइते भएका बैतेश्वर गाउँपालिका ६ नाम्दुका ७ वर्षीय बालक कुशल नेपालीको असार २८ गते मृत्यु भइसकेको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।

बोहोराका अनुसार रेबिजकै कारण मेलुङ ५ सुंगुरे निवासी १५ वर्षीय सुरेस विकको समेत मृत्यु भइसकेको छ । उनीहरु तीनै जनालाई रेबिज संक्रमण पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।

स्थानीय विश्व भण्डारीका अनुसार गाउँमा अझै ९ जना कुकुरले टोकेका मानिसहरु छन् । तिनीहरुमध्ये दुई जना सिकिस्त छन् । १२ जनालाई एकैदिन टोक्ने कुकुरलाई भने स्थानीयहरुले असार २७ गते नै मारेका थिए ।

मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा
एकैदिन १२ जनालाई कुकुरले टोकेपछि मेलुङ बजारमा रहेको एक मेडिकलमा सबै जनालाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको थियो । तर, सुधार नभएपछि मृतकका आफन्त र अन्य मानिसहरुले उक्त मेडिकलको विरुद्धमा आन्दोलन गर्दै आएका छन् ।

आफन्त र स्थानीयले आन्दोलन गदै भ्याक्सिनबारे अध्ययन गर्न माग गरेपछि बुधबार प्रहरी मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ । उक्त मेडिकल बैधानिक रुपमा दर्तासमेत नरहेको र सञ्चालकले प्रयोग गरेको भ्याक्सिनबारे अध्ययन गर्न पशुस्वास्थ्य विभागबाट विशेषज्ञहरु जिल्ला झिकाउने तयारी भइरहेको प्रहरी प्रवक्ता बोहोराले जानकारी दिएका छन् । यता पक्राउ परेका कार्कीबिरुद्ध मृतकका परिवार र आफन्तले जाहेरीको तयारी गरिरहेको मृतक रामचन्द्र भण्डारीका भाई हरिशचन्द्र भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले रेबिज विरुद्धको अभियान चलाउन स्वास्थ्य टोली खटाउने
कुकुरले टोकेका सबै जनाको स्थानीय मेडिकलमा रेबिज विरुद्धको भ्याक्सिन लगाइएको भएपनि क्रमश मृत्यु हुनेको संख्या बढेपछि सिंगो गाउँ नै आतंकित बनेको छ । मेलुङ गाउँपालिकाको ३ वटा वडासहित आसपासका क्षेत्रमा रेबिज फैलन सक्ने भन्दै गाउँपालिकाले कन्ट्याक ट्रेसिङ र उपचारका लागि समुदायमा स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ ।

खटिएका स्वास्थ्यकर्मीहरुले कन्ट्याकमा देखिएकासहित शंका लागेका सबै स्थानीयहरुलाई रेबिज बिरुद्धको खोप लगाउने र गाउँका कुकुरलाई समेत भ्याक्सीन लगाउने तयारी गरिरहेको मेलुङ गाउँपालिका कार्यालयले जनाएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर