भागवत खनाल

१९ श्रावन २०७८, मंगलवार

बुद्धभन्दा धेरै समयअघि नै तराइको घना वनको उत्तरतर्फ पहाडी इलाकामा समानान्तर पाल्पाली सभ्यताको विकास भइसकेको थियो । मगर सभ्यताले उत्कृष्टता हासिल गरेको त्यस समयमा प्राचीन मगर भाषाको वर्चस्व रहेको अनुमान गर्न सकिन्छ । प्रसिद्ध इटालियन इतिहासकार तथा खोजकर्ता जोसेफ टुचीको भनाइअनुसार मंगोलियन भाषामा ‘बाल्बा’ शब्दको अर्थ सीप र कलाले भरिपूर्ण भन्ने बुझिन्छ । इतिहासले राम्रोसँग भेट्टाउन नसकेको त्यस बखतमा पाल्पाली कला र समृद्धिको प्रभाव भोट र चीनसम्म फैलिएको अनुमान छ । पाल्पा शब्द क्रमशः बाल्बा, बालुपा र पालुबा हुँदै कायम भएको अड्कल काटन कठिन छैन ।

गण्डकी र कर्णाली परिभ्रमण क्षेत्रमा फैलिएको मगर साम्राज्यमा समयक्रममा ससाना स्थानीय विद्रोही मगर सरदारहरूले अधिपत्य कायम गर्दै गए । विक्रमको चौधौं शताब्दीतिर बाहिरी दुनियाँबाट आएका ससाना समूहले पहाडी भागमा विस्तारै आफ्नो सभ्यता, धर्म र संस्कृति फैलाउँदै थिए । सोही क्रममा कतिपय सत्तासीन मगर खानदानले आफूलाई क्षत्री तुल्याए । पाल्पाली सेनवंश पनि मगरको सन्तान रहेको बलियो अनुमान छ । त्यही मगरवंशका राजा चन्द्र सेनका छोरा राजा रुद्र सेनले आफ्नो राज्यको राजधानी रिब्दीकोटबाट पूर्वतर्फ पाल्पा भन्ने ठाउँमा सारेका थिए ।

तानसेनबाट पश्चिमतर्फ करिब पाँच किलोमिटरदेखि १२ किलोमिटरभित्र अवस्थित भूभाग हो पाल्पा । राजा रुद्र सेनले स्थापना गरेको राजधानी कालभैरवको प्रसिद्ध मन्दिरको पश्चिम र हार्थोक बजारबाट पूर्वतर्फ रहेको हाल पुरानाकोट भनिने डाँडो हो । राजधानी तानसेन सारिएपछि स्थानीय जनताले साबिकमा पाल्पाली राजाको निवासस्थान रहेको टाकुरोलाई पुरानाकोट भन्न थालेका हुन् ।

मानिसको मात्र नभई भूभागको पनि भाग्य हुन्छ । हजारौं वर्षअघि उन्नतिको शिखरमा पुगेको सभ्यतालाई आफ्नो न्यानो काखमा राखेका भूभाग आज त्यो वैभव र समृद्धिलाई माटोमुनि धारण गरेर बसेका छन् । त्यस्ता कतिपय स्थान मानवले भेट्टाउन पनि नसक्ने गरी लुकेर बसेका होलान् । विकसित र वैभवशाली गाउँ, सहर र सभ्यता विलीन भएर जानुमा भूकम्प, जलवायु, बाढी, सुक्खा, युद्ध र राजनीति आदिमध्ये कुनै कारणले काम गरेको हुन सक्छ । कतिपय परित्याग गरिएका ठाउँमा मानिसको बसोबास भए तापनि पुरानो जीवन्तता हुँदैन ।

पाल्पा रुद्र सेनले राजधानी सारेको कारणले मात्र समुन्नत भएको होइन । त्यो सयौं वर्षदेखि आफैं समुन्नत थियो । सामरिक कारणले त्यही समुन्नत भूभागको एउटा टाकुरोमा रुद्र्र सेनले आफ्नो राजधानी कायम गरेका मात्र हुन् । त्यही टाकुरोमा बसेर रुद्र सेनका छोरा मुकुन्द सेन (प्रथम)ले आफ्नो राज्य विस्तार गर्ने सपना देख्दै टाकुराको पश्चिममा रहेको कोत्रे डाँडाको समथर जमिनमा सिपाहीलाई तालिम दिए । त्यही टाकुरोमा उनले पर्वते राजा प्रतापी नारायण मल्ललाई आफ्नी छोरीको कन्यादान गरेर दिए । तिनै पाल्पाली राजकुमारी विश्रवा देवीले दाइजो लगेकी पाल्पाली कालिका अहिले बाग्लुङकी कालिकाको नामले प्रसिद्ध छन् ।

सवा २ सय वर्षअघि परित्याग गरिएको पाल्पाले २००७ सालको परिवर्तनपछि फेरि उठ्ने प्रयास गर्दै आएको छ

मुकुन्द सेनले राज्य विस्तार मात्र गरेनन् । काठमाडौं उपत्यकामा भीषण आक्रमण गरेर मत्स्येन्द्रनाथको यात्रामा निकालेको कालभैरवको मूर्ति पाल्पा ल्याएर स्थापना गरे । आक्रमण र लुटपाट गरे तापनि राजा मुकुन्द सेन काठमाडौं उपत्यकालाई कब्जा गरेर बसेनन् । बरु उनले उपत्यका आक्रमण गर्ने तिब्बती भोटेलाई लखेट्ने काममा सहयोग पु¥याए । उनले राजा रत्न मल्लसँग सल्लाह गरी नेवारलगायत विभिन्न जातिका २ सय १ जना मानिस ल्याएर पाल्पामा बसाले (निर्मल श्रेष्ठ– सेनकालीन इतिहास …।)

विक्रम संवत् १५६० को दशकदेखि १८४० को दशकसम्म करिब पौने ३ सय वर्ष राजधानी रहेको पाल्पा दिनप्रतिदिन झनै समृद्ध हुँदै गयो । पाल्पाली राजा गन्धर्भ सेनले छोरी कौशल्यावतीको विवाह गोर्खाली राजा नरभूपाल शाहसँग गरिदिएका थिए । तिनै राजकुमारीबाट पृथ्वीनारायण शाहको जन्म भयो । पछि मुकुन्द सेन (द्वितीय)की छोरी राजेन्द्रलक्ष्मीको विवाह युवराज प्रतापसिंह शाहसँग भयो । राजा रणबहादुर शाह तिनै राजकुमारीका छोरा थिए । प्रतापसिंह शाहका भाइ बहादुर शाहले महादत्त सेनकी छोरी विद्यालक्ष्मीसँग विवाह गरे । महादत्त सेनले राजधानी तानसेन सारेको दुई दशक पनि नबित्दै उनका छोरा राजा पृथ्वीपाल सेनलाई भीमसेन थापाले काठमाडौंमा हत्या गराएका हुन् ।

रुद्र सेनले पाल्पा राजधानी सारेपछि राज्यको नाम नै पाल्पा कायम भयो । सेन राजाहरू पाल्पाली राजा कहलिन थाले । मुकुन्द सेन (प्रथम)ले राज्यविस्तार गरे पनि पछि गएर उनमा वैराग्य छाउँदै गयो । उनले एकीकृत राज्यलाई विभाजन गरी छोराहरूलाई बाँडिदिएर आफू देवघाटमा तपस्या गरेर बसे । मुनि मुकुन्द सेनको वैराग्य नै उनकै सान्तानका सन्तान पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ताको श्रेय पाउनुमा सहायक बन्न पुग्यो । नत्र त पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमा जितेको भन्दा धेरै भूभाग मुकुन्दले जितिसकेका थिए ।

पाल्पाली राजाहरूको अवैधका बजिरसँग राम्रो सम्बन्ध र संगत थियो । काठमाडौंबाट कारिगर, शिल्पी तथा व्यापारीको आगमन र शीतकालीन राजधानी बुटवल हुँदै हिन्दूस्तानतिरबाट मालमत्ता झिकाउन थालिएको हुँदा परम्परागत मगर शिल्पविलीन हुँदै गयो । राजकुमार, राजकुमारी र राजपरिवारका मानिस मात्र नभई दरबारी कर्मचारीको जीवनसमेत ठस्सापूर्ण हुँदै गयो । राजधानी इलाकाभित्र पर्ने जोगेपानी, सामाकोट, मसुरे, भारकोट, हटिया, ढ्याकुलडाँडा, रानीठाटी, हार्थोक, डुमृका र खस्यौली आदि गाउँहरू त्यस बखतको सन्दर्भमा सभ्य, सुकिला, शिक्षित र सम्पन्न मानिस बसोबास गर्ने स्थानका रूपमा कहलिन पुगे ।

त्यही क्रममा पाल्पालीको जीवनशैली र आडम्बरलाई लिएर अनेकौं लोकोक्ति विकसित भए । आफूलाई ओढ्न पछ्यौरी छैन पाल्पालीलाई खोल (पछ्यौरीमा मलमलको खोल हाल्ने हुँदा), पाल्पाली नानीको मुखै चहकिलो, पाल्पाली जमै कुप्रेतान पर्वते जमै लम्बेतान (पाल्पालीहरू पाखी काम्ला बोकेर नहिँड्ने ठस्सावाल हुँदा बास बस्ने ठाउँमा जाडाले कक्रक्क पर्ने प्रसङ)जस्ता उखानले पाल्पाली जीवनपद्धतिलाई उजागर गर्छन् ।

मंगोलियन भाषामा ‘बाल्बा’ शब्दको अर्थ सीप र कलाले भरिपूर्ण भन्ने बुझिन्छ

तर, समय सधै अनुकूल चलेन । विशेष गरेर सेनवंशीय शासनको पतन र अमरसिंह थापा तैनाथवाला भएर तानसेनमा बसेपछि पाल्पाको पतन सुरु भयो । त्यस समयपछि पाल्पा भन्नाले तानसेन बजार बुझिन थाल्यो । हुने खाने पाल्पाली लट्टीपट्टी बोकेर तानसेन, बुटवल र काठमाडौंतिर लागे । पाल्पाली राजाका नजिकका कतिपय मानिस राजपरिवारसँगै भागेर गोरखपुर पुगे । शक्तिको नजिक बस्न मन पराउनेहरू धनसम्पत्ति लिएर हिँडे । व्यापारीहरू कोही तानसेन र कोही बुटवलतिर लागे । यसरी पाल्पाको धन, विद्या, व्यापार र सीप सबै बसाइँ सरेर गयो । कलात्मक सामान, पुस्तक, बाजागाजा, हातहतियार र सानसौकत सबै सदाका लागि बिदा भएर गए । दरबारका काठपात, इटा र ढुंगा स्थानीयले उठाएर लगे । राष्ट्रिय सम्पदाको त्यो लुटपाट सम्बन्धमा नयाँ सत्ताले कुनै सरोकार राखेन । समृद्ध राजतन्त्रसँगै समृद्ध पाल्पाली सभ्यताको पनि अन्त्य भयो ।

सेनाले परेड खेल्ने चउर झाडीमा परिणत भए । राजकुमार, राजकुमारी र दरबारियाहरू घोडामा चढेर हिँड्ने सडक सुनसान, बिराना र चकमन्न भूत नाच्ने सडकजस्ता बन्न पुगे । राजाको जयगान, पूजापाठ, सरसल्लाह र नाचगान हुने रमाइला ठाउँमा स्याल कराउन थाले । सेन सभ्यताको पालामा विलुप्त भएको मगर सभ्यताको शिल्प र कला विस्मृतिमा गइसकेको हुँदा त्यसको पुनर्जागरण हुने सम्भावना पनि थिएन ।

तत्कालीन गण्डकी र कर्णाली प्रदेशलाई पुरातन र आधुनिक सभ्यताको शिक्षा दिने केन्द्र अकस्मात परित्यक्त भयो । बुटवलबाट पाल्पासम्म आउने अनेकौं बाटा बन्द भए । कर संकलनमा सहजता र विदेशी आक्रमणलाई असहज बनाउन नयाँ सरकारले त्यो कदम चालेको थियो (ह्यामिल्टन) । सेन सभ्यताको केन्द्रबिन्दुका रूपमा रहेको राजधानी केही वर्षमै कहाँनेर थियो भन्ने पहिचानसमेत हुन नसक्ने गरी निर्दयी इतिहासको गर्तमा विलीन भयो ।

सयौं वर्षदेखि बसोबास गर्दै आएको राज्यक्तिमा पहुँच राख्ने ठूलो समूह विस्थापित भयो । बाँकी रहेका धनाढ्य कोही भागे भने कोही बसाइँ सरे । उद्योग, व्यापार र शिल्प पनि पाल्पालाई परित्याग गरेर हिँडेपछि उजाड राजधानीमा बाँकी रहेका जनता रानी हराएका माहुरीजस्ता भए । बेरोजगारीले गर्दा मानिसले ऋण काढ्न थाले । सुकिलो बस्ने, मिठो खाने र ठस्सा देखाउने आदत बसेका पाल्पाली जनता खिसीट्युरीका पात्र हुन पुगे । सम्मानित लोकोक्तिहरू उपहासमा परिणत भए । परित्यक्त राजधानी पाल्पाका बासिन्दाहरूलाई लक्षित गर्दै नयाँ उखान हाल्न थालियो । ‘उपियाँ जति उफ्रेर गए जुम्राको कच्रघान,’ नाम भने धन्नाराम खानपिन ठण्डाराम, पाल्पाली ठसक रिनले भसक, भुटे भाङ पोले पिँडालु र उपती न पापती कुराकै चाङजस्ता उखान भनेर परित्यक्त पाल्पालीलाई खिसी गर्न थालियो । सवा २ सय वर्षअघि त्यसरी परित्याग गरिएको पाल्पाले २००७ सात सालको परिवर्तनपछि फेरि उठ्ने प्रयास गर्दै आएको छ । तथापि जुरुक्क उठेर आफ्नो पुरानो गौरव र पौरख फर्काउन अझै धेरै प्रयत्नको दरकार छ ।राजधानी दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित खवर