
२० आषाढ २०७८, आइतवार
पत्रपत्रिका
कारोवार दैनिकवाट
नेपाली कांगे्रसको १४औं महाधिवेशन भदौ १६ गते हुँदैछ । साउन १६ गतेदेखि वडा तहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ ।
त्यसैकारण हाल नेपाली कांग्रेसमा राजनीति गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषण गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ भने शेरबहादुर देउवाले पनि पुनः सभापतिमा उम्मेदवार दिने मनस्थिति बनाएका छन् ।
तर, युवापुस्ता र कांगे्रस शुभचिन्तक भने नेतृत्व परिवर्तन गर्ने पक्षमा वकालत गर्दै आइरहेका छन् । अधिकांश शुभचिन्तकमा नेतृत्व परिवर्तन गरी आउँदो चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने मत देखिन्छ ।
कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीलाई कस्तो नेतृत्व आवश्यक छ भनी जिल्ला सभापतिहरूसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :
परिवर्तनका लागि नेतृत्व परिवर्तन हुनैपर्छ
कृष्ण केसी
जिल्ला सभापति
नेपाली कांग्रेस, कास्की
नेपाली कांग्रेसको १४औं महाधिवेशन अब तोकिएको मितिमा हुनैपर्छ, क्रियाशील सदस्य र नयाँ सदस्यको विषयमा लगभग टुंगिएको छ यद्यपि केही विवादित विषयमा केन्द्रबाटै छानविन सुरु भएको छ ।
कास्कीको सभापति भएको नाताले हामीले शुक्रबारमात्र कास्कीबाट १९ हजार १४२ जनाको क्रियाशील र नवीकरणसहितको पार्टी सदस्यको नामावली केन्द्रमा पठाएका छौं । हामीसँग कास्कीमा करिब १२ हजार सदस्यमध्ये १० हजारले नवीकरण गरे भने करिब ८ हजारभन्दा बढीले नयाँ सदस्यता लिएका हुन् ।
मेरो विषयमा कुरा गर्दा अब पुनः जिल्लाभन्दा माथि प्रदेश कमिटीमा जाने मेरो व्यक्तिगत इच्छा र चाहना छ भने जिल्लादेखि केन्द्रसम्मका नेताहरू नेतृत्वबाट अब एक कार्यकाल सम्हालेपछि छोड्नै पर्छ यो मेरो मान्यता हो ।
हामीले अर्को पुस्ता हस्तान्तरण, युवालाई अवसर, अग्रजलाई सम्मान दिनका लागि पनि पटकपटक एकै पदमा दोहोरिनु राम्रो हँुदैन । भूगोल र समुदायको आधारमा सबै प्रकारको समावेसी टिम आउनु पर्ने अवस्था छ ।
नेपाली कांग्रेसलाई आफ्नो पार्टीको मात्र नभई देशकै बागडोर सम्हाल्ने नयाँ नेतृत्वको खाँचो छ ।
दुई तिहाइको कम्युनिस्टले देशलाई अहिले घात गरेको छ । तीनै तहमा आफ्नो वर्चश्व कायम गरेको कम्युनिस्ट पार्टीले दशेको बागडोर सम्हाल्न नसके पछि अब कांग्रेस नेतृत्वमा देशको बागडोर सम्हाल्ने जिम्मा आएकाले अब उचित ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्छ ।
देशले असल अभिभावक खोजेको अवस्थामा अब कांग्रेसले त्यसलाई अवसरको )रूपमा लिनुपर्छ, कम्युनिस्ट नेतृत्व सरकारले अभिभावक हुने कुनै अनुभूति दिलाउन सकेन, प्रजातन्त्र, राष्ट्रियता, देश र जनताका लागि मुलुकले अभिभावक खोजेको छ ।
कोरोनाको कारणले गर्दा तल्लो तहबाट माथिल्लो तहसम्म राम्रोसँंग छलफल हुन नसके पनि प्र्राविधिक सांगठनिक अधिवेशनका रूपमा हामीले लिएका छौं । कोरोनाले गर्दा यस वर्ष प्राविधिक अधिवेशनले नीति र कार्यक्रममाथि पर्याप्त छलफल गर्न भने सकिएको छैन ।
अधिवेशन नेतृत्व छनोटको अधिवेशन हो, अधिवेशन सकिएको करिब ६ महिनामा देशको परिस्थिति हेरिकन महासमितिको बैठकबाट १४औं महाधिवेशनको नीति र कार्यक्रम हो भन्ने गरी छलफल गर्ने र नयाँ निती र कार्यक्रम तय गरेर जानुपर्ने स्थिति आएको छ ।
सवै युवा तथा तरुणमात्र आएर पनि पार्टी चल्दैन त्यसैले पार्टीभित्र सिनियर नेतादेखि नयाँ पुस्तासमेत मिक्स भएर आउनु पर्छ जहाँ परिपक्क नेताको अनुभव नयाँ पुरस्ताको जोस जाँगरलाई नेतृत्वमा तलदेखि माथिसम्म लैजानु पर्ने अवस्था छ ।
नेतृत्व परिवर्तन आवश्यक र जरुरी पनि छ । नेता सधै रहन सकिएला तर नेतृत्व एक पटकमात्र गर्ने हो ।
प्रस्तुति : दीननाथ बराल
पुस्तान्तरणका लागि छलफल जरुरी छ
अजय द्विवेदी
जिल्ला सभापति
नेपाली कांग्रेस, पर्सा
उमेरको हिसाबले पुस्तान्तरण, युवान्तरण यो सब शब्दावलीमा म विश्वास गर्दिन ।
पार्टीमा रहेका मुलभूत समस्या जुन छन् । ती मुलभूत समस्यालाई समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर र समाजका मुद्दासँग पार्टीलाई जोड्दै पार्टीलाई जीवन्त बनाउने मेरो विचारमा कांग्रेस पार्टीका लागि मुद्दा यो हुनुपर्छ ।
व्यक्ति केन्द्रित यो बुढो भयो, यो जवान भयो । यी मुद्दा राजनीतिमा अराजनीतिक प्रश्नमात्रै हो । बीपी कोइरालाले नै भन्नुहुन्थ्यो, उमेरले राजनीतिमा बूढो हुने होइन, विचारले हुने हो । विचार क्रियाशील हुनुपर्छ ।
यस विषयमा बहस हुनुपर्ने हो । कांग्रेस पार्टीमा तल्लो तहमा देखिएको मूल कारण भनेको आन्तरिक चुनाव हो । मलाई जिल्ला सभापति बन्नु छ भने गाउँगाउँबाट आफ्नो मान्छे ल्याउनुप¥यो ।
आफ्नो मान्छे ल्याउनका लागि बनाउनका लागि आफ्नो भएभरिको शक्ति लाउँछ । त्यसको नतिजा के हुन्छ भने, राम्रो मान्छेहरू छुट्छन् । त्यस्तै केन्द्रका नेतालाई पनि महाधिवेशनका लागि आफ्नो मान्छे चाहियो ।
आफ्नो मान्छे ल्याउने काम पार्टीभित्रको चुनावले गर्दा ल्याउनु परेको छ । त्यसकारण पार्टीभित्रको चुनाव बन्द गर्नुप¥यो । पार्टीभित्रको आन्तरिक मूल्यांकन पद्धति जुन पहिले थियो राजनीतिक दलमा त्यो पद्धतिलाई पुनर्जीवित गरौं ।
त्यसले न्याय पनि गर्छ । पुराना काम गरेका मान्छेलाई स्थापित पनि गर्छ । उनीहरूको बीचमा प्रतिस्पर्धा हँुदै जान्छ । हिजो त्यही थियो । बीचमा हामी एकदम चुनावी प्रणालीमा गयौं । नयाँ विधान धेरै संशोधन ग¥यौं ।
विपी कोइरालाले बनाएको विधान नै अहिले पनि प्रभावकारी छ । धेरैले मलाई विपी कोइरालाले बनाएको विधान नै सबैभन्दा उत्कृष्ट काम गर्न सहज रहेछ । मसँग जति जनासँग कुरा हुन्छ । सबैले त्यही भन्छन् ।
अहिलेको नयाँ विधानअनुसार काम गर्न सकिँदैन । सभापति पद्धति थियो । सबै जिम्मेवार सभापति हुन्थ्यो । अहिले सामूहिक नेतृत्वमा गयो । सबै जिम्मेवार तर कोही जिम्मेवार छैन । आज कांग्रेसको अवस्था यो छ । हिजो सभापति जिम्मेवार हुन्थ्यो ।
अहिले त्यो चाहिँ कमजोर भयो । हिजो हामीले सुशील कोइरालालाई हे-यौं । उहाँले पनि काम गर्न सक्नु भएन । शेरबहादुर देउवालाई पनि हेर्दैछौं उहाँले पनि काम गर्न सकिरहनु भएको छैन ।
यो मूलभूत किन भन्ने प्रश्नको गम्भीर छलफल कांग्रेसभित्र हुनुपर्छ । त्यो हुन सकिरहेको छैन । र राष्ट्रिय अरु मुद्दाहरू पनि छन् । हामीले लोकतन्त्र ल्यायौं । अझ समावेशी लोकतन्त्रमा गइसक्यौं । यो समावेशी लोकतन्त्र अझै जनकल्याणकारी कसरी हुन्छ । पूर्ण प्रभावकारी कसरी हुन सक्दछ ? कसरी काम गर्ने ? यसको विषयमा बहस हुनुपर्छ ।
खाली हाम्रो पार्टीको पदहरूमा समावेशी मान्छे ल्याउन भन्छौं त्यो शो पिसजस्तो मात्रै भएको छ । त्यसको खासै उपलब्धि धेरै देखिएको छैन । केही मात्रामा त देखिएको छ । धेरै कसरी बनाउने ? शासन प्रशासन, समाज खाली कानुन बनाई दिएर भएन ।
पार्टीहरू त सामाजिक परिवर्तनको वाहक पनि हुनुप¥यो । राजनीतिक दलको भूमिका अहिले हे¥यौं भने खाली शासन प्रशासनको मात्रै बाहक भएका छौं । त्यसको यन्त्रमात्रै होइन राजनीतिक दल । राजनीतिक दल सामाजिक परिवर्तनको पनि यन्त्र हो ।
हामीले जातीय छुवाछुतको विरुद्धमा कानुन बनाइदिनु मात्रै सरकार र पार्टीको काम होइन । सरकार भनेको पार्टीबाट बनेको हो नि ! हामी त बनाएको कानुनलाई समाजमा कसरी लिएर जाने, स्थापित कसरी गराउने ? त्यो पनि हाम्रो अभिभारा हो ।
त्यो हामी गर्न सकिरहेका छैनौ । हामी शासन प्रशासनको यन्त्रमात्रै भयौं । हामी इकोनोमिक मोडेलको विषयमा बहस गर्नुपर्छ । हामीले यस्तो इकोनोमिक मोडेल ल्यायौं, कि समाजमा सबैभन्दा गरिब जो छ । आजको दिन देशमा उसैले सबैभन्दा बढी ब्याज तिर्नु परिरहेको छ । हामी सबैले समाजवाद भन्छौं । सबैले गरिबको वकालत गर्छौ, मलाई सोध्नुहुन्छ भने गरिबका लागि कोही पनि छैन ।
म पनि नेपाली कांग्रेसको जिम्मेवार व्यक्ति हुँ । तर मेरो अनुभवले के भन्छ भने, अहिले पनि गरिबका लागि कोही छैन । न शासन छ । त्यसैले गरिबका लागि वास्तविक रूपमा कसरी काम गर्न सकिन्छ ? उदाहरणका लागि गाई किन्नु प¥यो भने, १२, १३ प्रतिशत ब्याज तिर्नुपर्ने, कार किन्नुप¥यो भने ८, ९ प्रतिशत ब्याज तिनुपर्छ ।
त्योभन्दा पनि सबैभन्दा बढी गरिबले ब्याज तिरिरहेका छन् । यस्तो पनि इकोनोमिक मोडल ? हामी सबैले समाजवाद भन्छौं । त्यसकारण हाम्रो इकोनोमिक मोडेल, सामाजिक मोडेलका बारेमा सैद्धान्तिक कुरा होइन व्यवहारमा कसरी लागू गर्ने ? सैद्धान्तिक कुरा गर्न त नेपालीहरू खप्पिस छन् । तर, व्यहारमा लागू गर्न कन्जुस छौं ।
त्यसकारणले पार्टी यी मुद्दा समाजमा लिएर जाने कसरी संवाहक कसरी बन्न सक्छ ? र कांग्रेस पार्टी अग्रणी पार्टी भएकाले कांग्रेसको अभिभारा महत्वपूर्ण छ । अझ कांग्रेसको आसन्न महाधिवेशनमा यी विषयका बारेमा छलफल हुनुपर्छ ।
यो पटक्कै छैन । खाली नेतृत्व, नेतृत्वको बारेमा नसके व्यक्तिको बारेमा मात्रै हामीमा छलफल भइरहेको छ । अराजनीतिक मुद्दामा हामी अल्झिरहेका छौं । राजनीतिमा कुन फर्मुला लगाएर आपूm अनुकूलको परिस्थिति निर्माण हुन्छ । त्यही फर्मुला लगाउँछ, त्यही हो । हो युवाहरूको आकर्षण छ । विस्तारै युवामा हस्तान्तरण हँुदै जानुपर्छ ।
कार्यक्षमताको आधारमा विस्तारै जिम्मेवारी पाउँदै जान्छ । त्यसलाई कसैले रोक्न सक्दैन । तर, म युवा हो पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने ठिक होइन । युवाको पनि नयाँ विचार हुनुपर्छ । नयाँ विचारलाई स्थान दिने र पूराना इतिहासलाई किर्सिन हुँदैन ।
प्रस्तुति : निरज पीठाकोठे
समयमै महाधिवेशन सम्पन्न हुन्छ
हरि बोहरा
जिल्ला सभापति, नेपाली कांग्रेस, कञ्चनपुर
अहिले महाधिवेशनको चर्चा छ । समयमै महाधिवेशन सम्पन्न हुन्छ । त्यसमा विभिन्न पाटो छन् कोरोना महामारीलगायत विभिन्न कुरा पनि छन् । मूलतया जस्तोसुकै सन्दर्भमा पनि नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा विश्वस्त छु ।
हामीले एउटा विधि बनाइरहेको अवस्था पनि छ । जस्तो कोरोना महामारीबाट पनि बच्नु प-यो हैन । त्यस्तै बाढीपीडित लगायतका समस्या आएका छन् । यस सन्दर्भमा पार्टीको अधिवेशन बाध्यता पनि भइरहेको छ । हामीले अधिवेशन नगरे पनि अफ्ठ्यारो भएको अवस्था छ । त्यसकारण उक्त कुराको निकास पनि निकाल्ने योजना छ, यस्तै अवस्था भयो भने महाधिवेशन सम्पन्न हुन्छ ।
नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भयो भने वडास्तरदेखि केन्द्रसम्म एकैचोटी हुन्छ । यसमा विभिन्न समयमा पार्टी सदस्यताको कुरामा विवाद आउने सन्दर्भमा हाम्रो जिल्लामा भने त्यस्तो विवाद हुने अवस्था छैन । पूर्वतिर छ भन्ने पनि सुनिन्छ ।
तर कञ्चनपुरको हिसाबमा भने सदस्यतामा समस्या छैन । तर विवाद भएको स्थानमा पनि विस्तारै विवाद मिलाउने काम भएकाले केही समयमा नै विवाद साम्य हुन्छ भन्ने लाग्छ । अधिवेशन भनेको पार्टीमा आबद्धता भएका पार्टीका सम्पूर्ण सदस्यका लागि हो यसमा पार्टीभित्र गुटको कुरा आए पनि गुट उपगुट भन्ने छैन भन्न पनि मिल्दैन ।
अहिलेको परिस्थितिलाई मध्यनजर गरेर हेर्ने हो महाधिवेशन हुन्छ । तर कोभिडको अहिलको अवस्थामा झन् कम हुनुको साटो बढ्दै गयो भने त्यसमा केन्द्रीय कमिटिको निर्देशन महाधिवेशनको कुरा अगाडि बढ्छ ।
महाधिवेशन नजिक आइरहँदा हामीले महाधिवेशनको तयारी पनि थालिसकेको अवस्था छ । कुनै पनि हालतमा समयमै महाधिवेशन सम्पन्न हुन्छ । यसमा सभापतिको हैसियतले ढुक्क छु भन्नुपर्छ ।
महाधिवेशनमा अगाडि बढेको उम्मेदवारलाई हामीले वडास्तरबाट नै निर्विरोध चयन गर्ने योजना पनि बनाएका छांै । नजिकिँदै गरेको स्थानीय र माथिल्लो तहको निर्वाचनका लागि जनप्रतिनिधि निर्विरोध चयन गर्ने वातावरणमा हामी लागेका छौ ।
हाम्रो विधान पनि एक किसिमले जटिल खालेको छ । वडामा प्रतिनिधि नआएर माथि आउन पाउँदैन त्यसकारण वडा तह पश्चातमात्रै माथिल्लो कमिटीमा आउने कुरा हुन्छ । त्यसमा वडाबाट नआइकन नेतृत्व पक्ष को हुन्छ भन्ने हुँदैन ।
प्रस्तुति : चन्द्रकान्त जोशी
परिवर्तन गर्ने सक्ने नेतृत्व चाहिन्छ
कीर्तिबहादुर खड्का
जिल्ला सभापति, नेपाली कांग्रेस, दाङ
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट कांग्रेसलाई हरेक कुराबाट परिवर्तन गर्न सक्ने नेतृत्व आवश्यक छ ।
त्यसैअनुसारको नेतृत्व चयन हुने मैले विश्वास लिएको छु । महाधिवेशनमा जाने सार्थीहरूले अहिलेको अवस्थालाई हेरेर कांग्रेसलाई बलियो बनाएर अगाडि बढाउन सक्ने नेतृत्व छनोट गर्नु हुनेछ ।
महाधिवेसनमा जाने सार्थीहरू बौद्धिक तथा जिम्मेवार व्यक्ति हुनुहुन्छ । जसले नेपाली कांग्रेसलाई हरेक कुरामा परिवर्तन गर्न सहयोग पुग्ने छ ।
नेपाली कांग्रेसले पहिले आफूलाई सुधार गरेर जनताको भावनालाई बुझेर अगाडि बढ्न आवश्यक छ ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता सबैको आआफ्ना कमीकमजोरी छन् ती कमी कमजोरीलाई हटाउँदै जानु पर्दछ । आफ्नो स्वार्थभन्दा माथि उठेर अगाडि बढन सक्नु पर्दछ । आफ्नो स्वार्थले काम गर्दा देश बन्न सक्दैन त्यसले देश बनाउनका लागि काम गर्न सक्नु पर्दछ ।
यसतर्फ सबैले ध्यान दिनु पर्दछ । कांग्रेसलाई विधि विधानअनुसार अगाडि बढाउन सक्नु पर्दछ । अरु पार्टीभन्दा नेपाली कांग्रेस फरक पार्टी हो । अरु पार्टीलाई गाली गर्नुभन्दा पहिले आफूलाई सुधार गर्न सक्नु पर्दछ ।
अरु पार्टीजस्तै भएमा कांग्रेसको अस्तित्व रहँदैन । कांग्रेसलाई बचाइराख्न समयमै नै ध्यान दिन सक्नु पर्दछ ।
भाषणले मात्र केही नहुने भएकाले व्यावहारिक रूपमा नै परिवर्तन हुन सक्नु पर्दछ । पछिल्लो समय राजनीतिक दलहरू जनताको भावनाअनुसार अगाडि बढन नसक्दा जनता राजनीतिक दलप्रति जनविश्वास घट्दै गएको छ ।
यस प्रकारको कार्य हुनु राम्रो होइन । यसका बारेमा समयमा नै ध्यान दिन सक्नु पर्दछ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा इमान्दारिता र पारदर्शिता हुन आवश्यक छ । जनताको भावना बुझेर अगाडि बढेमा मात्र पार्टीलाई बलियो बनाउन सकिने छ ।
देशलाई अगाडि बढाउने नेतृत्व नेपाली कांग्रेसले गर्ने भएकाले कांग्रेस जिम्मेवारी भएर बढनु पर्नु पर्दछ ।
अहिले देश अप्ठ्यारो परिस्थितिबाट अगाडि बढेको भन्दै सबै एक्लै एकै ठाउँमा उभिएर देशलाई अगाडि बढाउन पर्ने अवस्था छ । यसैअनुसार कांग्रेस अगाडि बढनु पर्दछ ।
प्रस्तुति : अमरराज आचार्य