स्थानीय प्रशासनबाट अनुमति लिएर रूपन्देहीको सिद्धार्थनगरदेखि एक बस शनिबार बिहान बर्दियाका लागि छुट्यो । निषेधाज्ञायता पहिलोपटक यात्रु बोक्दै गरेको उक्त बस आधा बाटो पुगेपछि बिग्रियो । बन्ने टुंगो नभएपछि यात्रु अर्को बस बोलाएर गन्तव्यमा पुगे । लामो समयदेखि बस थन्काएर राखेकाले समस्या देखिएको चालकले बताए ।

तिलोत्तमा–१५ पत्थरडाँडाका रामु पौडेल दुई दशकदेखि यातायात क्षेत्रसँग आबद्ध छन् । भैरहवादेखि काठमाडौं चल्ने दुईवटा बस छन् उनका । निषेधाज्ञा भएयता उनी आरामले सुत्न पाएका छैनन् । २०७६ चैतदेखि नै व्यवसाय संकटमा परेपछि आफूलाई घाटा मात्रै भएको उनले सुनाए । ‘दुईवटै बस अहिले बिग्रिएर ग्यारेजमा छन्,’ उनले भने, ‘१ लाख घटी खर्च आउँदैन । तिर्ने कसरी हो थाहा छैन ।’ बसको अगाडिको जाली हल्लिने, टायर दब्ने, रङ उडेर खिया लाग्नेजस्ता समस्या भएपछि मर्मतका लागि ग्यारेजमा लगेको उनले बताए । निजी सवारी चलाउन पाउने, मालवाहकलाई छुट दिने सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि सवारी धनीसँगै चालक र परिचालकसमेत मारमा परेको उनको गुनासो छ ।

देवदहका कृष्णप्रसाद सापकोटा पनि यो क्षेत्रमा प्रवेश गरेको २० वर्षभन्दा बढी भयो । तर यस्तो संकट कहिल्यै भोगेका थिएनन् । भैरहवा–काठमाडौं रुटमा चल्ने सापकोटाका ६ वटा एसी बस एक महिनादेखि ग्यारेजमा थन्किएका छन् । ‘गत वर्ष सात महिना थन्किए,’ उनले भने, ‘फेरि अहिले देशमा उही संकट दोहोरियो ।’ मासिक ७ लाख ५० हजार बैंकमा किस्ता र ब्याज बुझाउनुपर्ने तथा बैंकको ताकेता सहनै समस्या भइरहेको उनले दुखेसो पोखे । करोडौं ऋणमा खरिद गरिएका गाडी थन्काएर राख्नुपर्दा आफू पीडित बनेको भन्दै उनले १६ जना मजदुरको समेत बिचल्ली भएको सुनाए । ‘उनीहरूलाई जति सक्छु त्यति भात खानका लागि दिएको छु,’ उनले थपे, ‘यस्तै भइरहे व्यवसायबाट पलायन हुने र ऋणको भार बोकेर बस्नेबाहेक विकल्प रहन्न ।’

बुटवल–पाल्पा सडकमा गुड्ने दीपेन्द्र कुँवरको बस पनि अहिले घरमै छ । पहिला पनि ६ महिना चलाएर रोकिएपछिको समस्या अहिले दुई महिनादेखि भोगिरहेको उनले बताए । व्यवसायीको गुनासो जति भने पनि नसकिने भन्दै उनले सरकारले आफूहरूलाई नागरिकको दर्जासमेत नदिएको आरोप लगाए । बुटवलदेखि नेपालगन्ज गुड्ने पश्चिम नेपाल बस व्यवसायी समितिका रुट संयोजकसमेत रहेका प्रकाश बन्जाडेले १० दिनमै पार्टपुर्जामा खिया लाग्ने भएकाले गत वर्षदेखि नै लामो दूरीका साधन बिग्रेर थन्किएका बताए । ‘खिया लागेर नराम्रो देखिए यात्रु नै चढ्दैनन्,’ उनले भने, ‘बस सिँगार्न थाल्दा आफू ऋणमा डुबिन्छ ।’ साधनको सदुपयोग गर्न नपाएपछि समस्या पर्ने र व्यवसायी विदेश पलायन हुने अवस्था आउने उनको भनाइ छ । चालक र परिचालक झन् मारमा परेको भन्दै उनले उनीहरूको रोजीरोटी जोहो हुने माध्यम नै नरहेको जनाए ।

सिद्धार्थ सार्वजनिक यातायात प्रालिमा साढे ४ सय बस छन् । ती गाडी केही बसपार्कमा छन् भने केही घरघरमा । अहिले थन्किएका अधिकांश बसको इन्जिनमा खिया लागेको छ । प्रालिका कोषाध्यक्ष जितेन्द्र क्षत्रीका अनुसार अधिकांश बस ७० लाखदेखि ९० लाख रुपैयाँ लगानीमा भित्रिएकाले व्यवसायीलाई उक्त रकमको ब्याज तिर्न हम्मे परेको छ । गत वर्षदेखि नै समस्या भोगिरहे पनि समाधान गरिदिने निकाय मौन रहँदा यातायात साहु र मजदुरको अवस्था नाजुक बनेको उनले बताए ।

देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रालि मातहत अहिले २ हजार ३ सयभन्दा बढी लामो र छोटो दूरीका बस सञ्चालित छन् । प्रालिका सञ्चालक जीवनकुमार बन्जाडेले यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाई दूरी कायम गरेर चलाउँछौं भन्दासमेत संघीय सरकारदेखि स्थानीय तह कसैले पनि नदिएको गुनासो गरे । ‘सरकारले कर छुट, बैंक ब्याजपछि तिर्न मिल्ने भनी भाषण गरिरहेको छ,’ उनले भने, ‘बैंकबाट निरन्तर फोनको तनाव खेपेका व्यवसायीलाई परेको पीरबारे कुनै सरकारले अनुगमन गरेर बैंकलाई चुप बनाउन सकेको छैन ।’ बसपार्कमा बस थन्किने तर पहाडी क्षेत्रमा गुड्ने स्कार्पियोलाई ८ जनाको सट्टा १८ जना लिएर हिँड्नसमेत संक्रमणको डर नहुने भन्दै प्रशासनले अनुमति दिइरहेको उनको आरोप छ ।

निषेधाज्ञा खुलेपछि पनि सार्वजनिक यातायात क्षेत्र कसरी सञ्चालन गर्ने भन्नेबारे राज्यले कुनै योजना नबनाएको उनको भनाइ छ । मर्मत नगरी थन्किएका सवारीसाधन गुडाउन नमिल्ने र त्यही बनाउने खर्चसमेत व्यवसायीसँग नरहेको उनले बताए । धेरै सवारी भएका सवारी धनी बैंकको ऋणले आत्तिएको अवस्थामा सरकारले सहयोग नगर्दा अवस्था थप असहज भएको उनले बताए । यस्तोमा यातायात कार्यालयले सवारी नवीकरणका लागि सूचना जारी गरेर अर्को अप्ठ्यारो थपेको उनले सुनाए । (आज कान्तिपुरमा समाचार छ)

प्रतिक्रिया

सम्बन्धित खवर