गुल्मी, १२ मंसिर । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ६ जना पुगेको छ ।
सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै र अर्का १ जनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको हाे ।

दुर्घटनामा परी मृत्यु हुने सबैकाे सनाखत गरिएकाे छ । जसमा इस्मा– ४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका– ५ का ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।
घाइते तीनमध्ये इस्मा– ४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर