पुरन्जन आचार्य

१९ भाद्र २०७७, शुक्रवार

कांग्रेसको संगठन यतिखेर महात्मा गान्धी भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गर्नुअगाडि जस्तो उच्चमध्यम वर्गको क्लबमा रूपान्तरित भएको छ 

९ बजेपछि मात्र निषेधाज्ञा होला भन्ने अनुमानमा म बिहान मर्निङवाकमा निस्केँ, गएको सोमबार । ब्लडप्रेसरको औषधि पनि किन्नुपर्ने थियोे । नाम याद भएकाले कुनै प्रेस्क्रिप्सन र खाली खोल मैले बोकिनँ । ९ बज्न दुई घन्टा बाँकी थियो, तसर्थ सधैँ औषधि किनिरहेको मध्यबानेश्वरस्थित ‘भरोसा अस्पताल’ मेरो गन्तव्य थियो।

नेपालभित्र अर्को नेपाल बानेश्वर : घुम्दै जाँदा नयाँ बानेश्वर चोकको पूर्व भव्यताका साथ दायाँ–बायाँ उभिएको संघीय संसद्् र निजामती कर्मचारीको अस्पताललाई नियालेँ । बाटो सुनसान र पैदलयात्रुहरू एकदमै न्यून थिए । मोटरसाइकल र गाडीको दौडादौड भने ठीकै थियो । केही गाडीवालाहरू ड्राइभिङ सिटछेउको सिसा खोलेर प्रहरीलाई कागज देखाउँदै अगाडि बढ्दै थिए । कागज के हो र कसले जारी गर्छ भनी मैले एकजना प्रहरीलाई सोधेँ । जवाफ आएन ।
शासक र प्रशासकहरूका लागि चीनद्वारा निर्माण गरिएको संघीय संसद् र निजामती अस्पताललाई मैलै अब पछाडि छाडेँ । एकछिन गम खाएँ । त्यत्रो सिंहदरबार परिसरले नपुगेर यो ठाउँ किन संघीय संसद्ले ओगटेको होला ? किन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यहीँ बनाएको होला ? खुला चौर र खेलमैदान भएको भए धोबीखोलाको पूर्वी भेगमा बस्ने लाखौँ सर्बसाधारण काठमाडौंवासीका लागि यो खुला ठाउँको महत्व नै बेग्लै हुन्थ्यो, मनमा यस्ता अनेकौँ तर्कना आए।

निजामती कर्मचारीको अस्पताल देखेर झन् धेरै उठ्छ । किन श्रमिक, किसान र गरिबको अस्पताल हुँदैन ? स्कुल, कलेज र अस्पताल कर्मचारी, प्रहरी र सेनाका लागि मात्र किन छुट्टै बन्छ ? जर्ज अरवेलको उपन्यास एनिमल फार्ममा धेरै अगाडि पढेको थिएँ, ‘सबै बराबर हुँदैनन्’ भनेर । केही खास हुन्छन्, ‘भिभिआइपी’ । नेपालमा केही खास को छ भनिरहनु पर्दैन ।

नग्न समाजवाद : सत्तामा समाजवादी र साम्यवादी छन्, पालो–पालो नेपालमा । समाजवादतर्फ ढिलो–चाँडो नेपालमा अभ्यास होला, अहिले नभए पनि भन्ने सम्झेर म बेफिक्री भएँ । संविधानमा व्यवस्था गरेको समाजवादउन्मुख राष्ट्रप्रति दलहरूको साझा सहमतिलाई कसरी बुझ्ने ? सोझो अर्थमा म केही पनि बुझिरहेको छैन । सडकमा राइफलधारी सुरक्षा निकाय छन् । दैनिक ज्यालादारी गर्ने मजदुर र नाङ्लो र चटाइ पसल सडकछेउ खोली परिवार पाल्नेहरू सुरक्षा निकायको आँखा छली अगाडि बढ्ने प्रयत्न गर्दै छन् । जीवन अगाडि बढाउन सुरक्षा निकायसँग लुकिछिपी बानेश्वर चोकबाट उम्कन खोज्दै थिए, यी सीमान्तकृत नेपाली । स्कुल, कलेज, अस्पताल, बाटो, बिजुली, पानी, सरकारी सेवा, बजारभाउ कहीँ पनि त समाजवादको सम्बोधन यिनलाई छैन ।

व्यापारी र उद्योगपति यतिखेर टेन्सनमा छन्, नाफाघाटालाई लिएर । लागानी डुब्यो भनेर टाउकोमा हात दिएर बसेका छन् । किसानको कुरै नगरौँ, बेहाल छ । दैनिक ज्याला मजदुरी गर्ने बीसौँ लाख ‘मान्छे’ मान्छे नै हुन् कि होइनन्, यो देशको ? शंका छ । अर्कोतिर निजामती कर्मचारी सबैभन्दा सुविधाभोगी वर्ग हो, यो देशको । यो छुट्टै टापुमा बस्छ, यही देशमा । ऊ लकडाउनमा पनि निश्चिन्त छ । उसको तलब, पेन्सन, घुस र सुविधामा कुनै कमी आएको छैन ।

नेपाली समाजमा अभ्यास भइरहेको लोकतान्त्रिक विचारधारामाथि गम्भीर आक्रमण भइरहेको छ । यो आक्रमण कम्युनिस्ट पार्टीको नाममा संगठित रूपमा अगाडि बढाइँदै छ । कम्युनिस्ट पार्टीको क्याडर बेस संगठन यतिखेर अकुत स्रोत र साधनले देशको लोकतान्त्रिक दिशा परिवर्तन गर्न अग्रसर छ ।

दक्षिण एसियामा दैनिक ज्यालादारी गरेर खाने प्रवासी मजदुरहरूलाई अहिले ‘इनभिजिबल मानिस’ अर्थात् ‘अदृश्य मानिस’ नामकरण गरिएको छ । भारतलगायत दक्षिण एसियाका सबै सरकारले यी अदृश्यझैँ देखिने पनि मानिस नै हुन् भनी पहिलोपल्ट ‘नोटिसमा’ लियो र सरकारी ढुकुटी यिनको जेबमा पुर्‍याउँदै छ । प्रधानमन्त्री हुन तलवार र बन्दुक उठाएर रातिराति ‘बन्धुहत्या’ गर्न निस्कन्थे रे राणा, नेपालमा कम्युनिस्ट सरकारको चालाढाला त्यही चरित्रको छ । नग्न समाजवादको योभन्दा ‘भल्गर दृश्य’ अरू के हुन सक्छ ।

क्वारेन्टाइन ट्र्यापमा म फसेँ : जापानद्वारा निर्मित अस्तव्यस्त ६ लेनको बाटोलाई छाडेर म जेब्राक्रसिड. पार गरी नयाँ बानेश्वर चोकको पश्चिमपट्टि पुगेको मात्र थिएँ, त्यहाँ पैदलयात्रुलाई क्वारेन्टाइनको व्यवस्था गरिएको रहेछ । प्रहरीहरू राइफल नै लिएर बसेका थिए । म क्वारेन्टाइनमा परेँ ।

केही बेरपछि हातमा कलम र कापी लिएर एकजना प्रहरी नाम सोध्दै मेरो छेउ आए । मैले र मेरी श्रीमतीले नाम भन्यौँ । प्रहरीले नाम टिपे र आधा घन्टा आराम गर्नुस् भनी गए । ठीकै छ भनी म बसेँ । धागोको घेराले बनाएको लोकल क्वारेन्टाइनमा भीडभाड धेरै भएकाले होला हामीलाई बाहिरै उभिन प्रहरीले आदेश दिए । क्वारेन्टाइनमा बस्ने धेरैजसो दैनिक ज्यालादारी गर्ने चप्पल लगाएका मजदुर थिए । मेरो केहीअघिको तर्कना चीननिर्मित संघीय संसद् र निजामती अस्पतालसँग यो मजदुरको साइनो कहिले स्थापित होला भनी एकछिन गम खाएँ । सामाजिक सुरक्षा भत्तालाई सम्झेर यीसँग कुराकानी गर्न मन लाग्यो । त्यहाँ सबै निरीह देखिन्थे । सबै भविष्यप्रति निराश र उदास थिए । तीमध्ये एकजना युवा मैले आफ्नो नाम प्रहरीलाई भनेको सुनिरहेका रहेछन् र मलाई सोधे, ‘सर, कांग्रेस जाग्ला?’

म त अवाक, हतप्रभ नै भएँ । मैले किन कांग्रेस चाहियो ? त्यो पनि त उस्तै पार्टी हो भनेपछि उनले ‘हुन त सबै लुटेरा हुन्’ तर कांग्रेसले गरिबलाई काम गरी खान यसरी महिनौँ कहिल्यै रोकेको थिएन भने । चप्पल भिरेका युवा कपाल चिलाउँदै फेरि सोध्छन्, ‘सर, अन्यत्र देशमा पनि यस्तै बन्दाबन्दी छ अझै ?’ संसारभरि के छ मलाई थाहा छैन । तर, भारत, पाकिस्तान, चीन, बंगलादेश, श्रीलंका सबैतिर नेपालमा भएजस्तो बन्दाबन्दी कहिल्यै भएन भनेँ । अहिले त त्यहाँ कोरोनासँग लड्दै आर्थिक गतिविधि पनि अगाडि बढाउन थालेको धेरै भयो । मबाट ठूलै जानकारी पाएजस्तो गरी उनले सुस्केरा हाल्दै ‘खै कोरानाले त के हुने, कहिले हुने, थाहा छैन, तर हामीजस्तो दैनिक कमाएर खाने गरिबको बिचल्ली नै भयो, लकडाउनले’ भने ।

कांग्रेसप्रति अचम्मको आशा : कांग्रेसप्रति दैनिक ज्यालादारी गर्ने कुनै मजदुरबाट इमानदारीपूर्वक आशा र भरोसा गरेको मैले दशकौँदेखि काठमाडौं सहरमा सुनेको थिइनँ । मेरो लेखको शीर्षक ‘कांग्रेस जाग्ला’ तिनै कामको खोजीमा बिहान पाटनतिर चप्पल लगाएर हिँड्दा नयाँ बानेश्वर चोकको क्वोरन्टाइनमा भेटिएका मजदुरको वाणी हो । आजको कांग्रेसमा यस्ता मजदुरको वाणी सुनिन्छ कि सुनिदैन, मलाई थाहा छैन । तर प्रश्न छ, कांग्रेसलाई जगाउने कसले ? कसरी ? र, किन ?

कांग्रेस, कम्युनिस्ट दुवै सत्तापक्षझैँ : सत्तापक्ष अर्थात् नेपाल कम्युनिस्ट पार्टीलाई सुशासनका लागि लेखेर, बोलेर वा भेटघाटमा सुझाब दिएर सुधार हुने सम्भावना देखिँदैन । धेरैले यो प्रयत्न नगरेको होइन, तर व्यर्थ भयो भनी अहिले मुखमा टेप लगाएर बसेका छन्, यही पार्टीका समर्थक र शुभेच्छुकहरू । माधव नेपाल, झलनाथ, प्रचण्डलगायत सबै त्यही पार्टीका नेताहरू हरेश खाएको अवस्था छ । नागरिकसँग कुनै साइनो नभएको कम्युनिस्ट पार्टीको गृहकलहलाई प्रम ओली र उनका चतुर सहयोगीले प्रचण्डलगायतलाई थान्कोमा सुताउन कुनै असहज भएन ।

प्रम ओलीको कारण झन्डै दुईतिहाइको कम्युनिस्ट सत्ताउन्माद, अराजकता र उत्ताउलोपनामा खेर जाने सम्भावना छ । सत्तापक्षको चरित्र समष्टि रूपमा नसुध्रिने गरी अहंकारमा डुबेको छ भने स्वाभाविक रूपमा विपक्षबाट आमनागरिकले आशा र भरोसा गर्ने हो । तर, विपक्षी दलका नेता शेरबहादुर देउवा पनि आफ्नो पार्टी कार्यालयभन्दा प्रमनिवासमा सत्तापक्षको अंशियारझैँ देखिँदा नागरिकमा निराशा छाउँछ । दुर्भाग्यले अहिलेको नेपालमा लोकतन्त्रभित्र सत्तापक्ष मात्र छ, प्रतिपक्ष देखिँदैन ।

कांग्रेसको संगठन छैन । कांग्रेसभित्र देउवा गुट, पौड्याल गुट, कोइराला गुट र सिटौला गुट होलान् । यी गुटका बिचौलियाहरू नेताको परिक्रमा गर्न सक्छन्, नेतालाई गाडीमा राखी परिक्रमा गराउन सक्छन्, तर कांग्रेसको आदर्श बोकेर भावी निर्वाचनमा कम्युनिस्टसँग प्रतिस्पर्धा गर्ने हैसियत कमै मात्र राख्छन् ।

कांग्रेसको सम्भावना यहाँ छ : सत्तापक्ष र विपक्षबाट निराशा निसृत भइरहँदा सम्भावनाको खोजी कहाँ गर्ने ? कोसँग गर्ने ? कांग्रेस ‘टाइटानिक जहाज’झैँ समुद्रमा डुबिरहेको छ । अब यो जहाजलाई डुब्नबाट कसले रोक्ने र फेरि यात्रु बसाएर सुरक्षितसाथ गन्तव्यतर्फ लग्न कसले सक्ला ? फाइल बढुवा कांग्रेस छन्, त्याग र इतिहास देखाएर मै सक्छु भन्छन् । नीलो रगतधारी कांग्रेस छन्, देउवालाई ‘म’बाहेक कसैले हराउन सक्तैन भनी दावा गर्छन् । युवा कांग्रेस वृद्ध कांग्रेसको काँधमा चढेर आफ्नो उचाइ बढाउन चाहन्छन् ।

एउटा समय थियो, कुनै कांग्रेसले आफूलाई नेता दावा गरेनन्, तर ती पार्टी र जनताको नेता भए । नेता जनताले चुन्छन्, पार्टीको गुट र गिरोहले होइन । विगतका कांग्रेस नेता जनताको नजरमा चढ्थे, अनि कार्यकर्ताले त्यसलाई चुन्थे । अहिले कांग्रेसमा सर्वप्रथम व्यक्तिले म सभापतिमा योग्य छु भन्छ । अनि कार्यकर्ताले त्यसलाई गुटगत आधारमा भोट हाल्छन् । तब मात्र जनताले त्यसलाई नेता मान्नुपर्ने हुन्छ । तर, जनता स्वतन्त्र छन्, आफ्नो नेता छान्न । ‘वोगस’ क्रियाशीलबाट अगाडि बढेको प्रतिनिधिहरूले छानिने नेता यही कारण जनतालाई मन नपरेको हो ।

पार्टी संगठन र नागरिक मञ्चमा विगत तीन वर्षदेखि जो आकर्षक छ, आमन्त्रित छ, त्यही कांग्रेसको नेता हुन योग्य हुनुपर्ने हो । त्यस्ता नेताको कमी कांग्रेसमा छैन । कहिले कुनै सार्वजनिक मञ्चमा कसैले नोटिस नगर्ने व्यक्ति लोकतान्त्रिक पार्टीको नेता कसरी हुन सक्छ, बुझिनसक्नु छ । कांग्रेस कार्यकर्ताले भन्न सक्नुपर्छ, हाम्रो मात्र नेता भएर पुग्दैन, देशको नेता हामीलाई चाहिन्छ भनेर । यस्तो सद्बुद्धि कांग्रेस कार्यकर्तामा आउला ?

नेपालको लोकतान्त्रिक इतिहासलाई पढ्दा कांग्रेसको इतिहास नै पढेजस्तो हुन्थ्यो, एक समय । कांग्रेस नेता नै देश र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका नेता हुन्थे । कांग्रेसले निर्माण गरेको प्रणाली नै नेपालको राजनीतिक प्रणाली थियो । कांग्रेस नेताको आयाम अन्तर्राष्ट्रिय थियो । आज कांग्रेसका केन्द्रीय नेता आफ्नो चुनाव क्षेत्रबाट त्यही जिल्लाको अर्को निर्वाचन क्षेत्रमा नजाने हैसियतका छन् ।

यहाँनेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट कांग्रेसभित्र सम्भावनाको खोजी गर्न सकिन्छ । कांग्रेसको महाधिवेशनमा लोकतन्त्रका समर्थक, शुभेच्छुक र कार्यकर्ताहरूले गम्भीर हस्तक्षेप गर्न तम्से यो सम्भव छ । कांग्रेसको १४औँ महाधिवेशन असाधारण र युगान्तकारी घटना होस् नेपालको राजनीतिमा भनेर सल्लाह र सुझाब मात्र होइन, अभियानकै रूपमा अगाडि नबढाई अब लोकतन्त्रलाई सुरक्षित राख्न सम्भव देखिएन । कांग्रेस पार्टी अब कांग्रेस नेता र कार्यकर्ताको मात्र चासोको विषय रहेन । किन ?

पहिलो, नेपाली समाजमा अभ्यास भइरहेको लोकतान्त्रिक विचारधारामाथि गम्भीर आक्रमण भइरहेको छ । यो आक्रमण कम्युनिस्ट पार्टीको नाममा संगठित रूपमा अगाडि बढाइँदै छ । कम्युनिस्ट पार्टीको क्याडर बेस संगठन यतिखेर अकुत स्रोत र साधनले देशको लोकतान्त्रिक दिशा परिवर्तन गर्न अग्रसर छ । कांग्रेस एक्लै देशमा स्थापित आफ्नो विचारलाई कम्युनिस्ट तानाशाहीबाट जोगाउन सक्षम छैन । कांग्रेस एक्लैले विगतमा पनि जोगाउन सकेको होइन, अहिले पनि सक्तैन । फेरि कांग्रेस आफैँ वैचारिक रूपमा खहरे खोलाजस्तो जुनसुकै ठाउँबाट जसले पनि बगाइरहेको पार्टी भएको छ, अहिले ।

चौधौँ महाधिवेशनबाट अपेक्षा : चौधौँ महाधिवेशनपछि कांग्रेस कम्तीमा पनि विचारको एउटा राजमार्गमा हिँड्न सक्छ कि सक्दैन, यो गम्भीर प्रश्न छ । र, त्यही राजमार्गमा कांग्रेस कार्यकर्ता, समर्थक र शुभेच्छुकले केही समयका लागि निष्ठापूर्वक यात्रा गर्न एकताबद्ध हुन सक्छन् कि सक्दैनन् । भावी आमनिर्वाचनसम्म कांग्रेसमा वैचारिक, सांगठनिक र नेतृत्वप्रति पूर्णतः विश्वास र भरोसा नगर्ने हो भने कम्युनिस्टसँगको भावी युद्ध सजिलो छैन । कम्युनिस्टसँग आगामी दिनमा हुने युद्ध विचारधाराको हुनेछ । नेपालमा मात्र होइन, विश्वमै बहुलवादी लोकतन्त्रले चिनियाँ मोडेलको राजनीतिक प्रणालीसँग एक्काइसौँ शताब्दीको तेस्रो दशकदेखि गम्भीर मुठभेड गर्नुपर्नेछ, नेपाल अछुतो हुनेछैन ।

इतिहासमा पहिलोपल्ट विचारधारा जोडिएको संगठित पार्टीसँग सम्भवतः सत्ताबाहिर बसेर प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छ, कांग्रेस । तसर्थ, कांग्रेसले कुरुक्षेत्रको युद्धमा कम्युनिस्टसँग लड्न जानुभन्दा पहिले फागुनमा हुने भनिएको महाधिवेशनबाट शक्ति र ऊर्जा प्राप्त गर्न जरुरी छ । विचार, संगठन र नेतृत्व धारिलो बनाउने समय मुस्किलले दुई वर्ष छ, अब । कांग्रेसभित्र भएका फाइल बढुवा नेताहरूले र नीलो रगतधारी वंशवादी नेताहरूले आफ्नो समीक्षा आफैँ गर्नुपर्ने समय यही हो । कुरुक्षेत्रको युद्धमा जित्न ‘कृष्ण–अर्जुनको’ कम्बिनेसन चाहिन्छ, न कि ‘शैल्य र दुर्योधन’जस्ता । अहिले सभापतिमा दाबी गर्नेहरू शैल्य–दुर्योधनको कम्बिनेसनजस्तो देखिन्छन् । विगतमा राणाशासनविरुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध लडेकोभन्दा यो युद्ध छुट्टै हुनेछ, कडा हुनेछ र अन्तर्राष्ट्रिय भिडन्त हुनेछ ।

युद्धका मुद्दा के छन् ? : वर्तमान संविधानलाई पूर्ण रूपमा आत्मसात् गर्ने कि आलोचनात्मक समर्थन, यसबारे कांग्रेस १४औँ महाधिवेशनबाट प्रस्टताका साथ प्रस्तुत हुन सक्नुपर्छ । केही फरक पर्दैन, अहिलेको संविधानमा असहमति भएका बुँदाहरूलाई पार्टी महाधिवेशनबाट ‘रिजेक्ट’ गर्दा कांग्रेसले । तर, के रिजेक्ट गर्ने र किन ? यसको उत्तर चौधौँ महाधिवेशनमा खोजिनुपर्छ । कांग्रेस द्विविधामा भएका एजेन्डाहरूलाई छिनोफानो गर्ने अवसर चौधौँ महाधिवेशन हो ।

केही चर्चित मुद्दाहरू छन् । पहिलो– धर्मनिरपेक्ष राष्ट्रको, दोस्रो– गणतन्त्र, तेस्रो– संघीयता र चौथो– कम्युनिस्टसँगको भावी सम्बन्धबारे । कांग्रेसले आगामी महाधिवेशनबाट यी विषयमा साझा दस्तावेज ऐक्यबद्धताका साथ अगाडि बढ्न नसके पनि बहुमतबाट जे पारित हुन्छ, त्यसैलाई कम्तीमा आगामी १५औँ अधिवेशनसम्म मान्नुपर्छ । यही एजेन्डामा कांग्रेस विभिन्न गुटमा विभाजन भएर चौधौँ महाधिवेशनमा अगाडि बढ्नुपर्छ । यी एजेन्डामार्फत कांग्रेस नेताहरूलाई ‘राष्ट्रिय व्यक्तित्व बनाउने प्लेटफर्म’ उपलब्ध हुन्छ । यो बहस खुला गर ।

नेपालले अभ्यास गरेको व्यवस्था संसदीय नै होला, तर हिजोआज कुनै पनि संसदीय व्यवस्थाअन्तर्गत हुने राष्ट्रिय निर्वाचनमा राष्ट्रिय रूपमा स्वीकृत अनुहार पनि अगाडि आउनुपर्छ । नत्र, निर्वाचनमा पार्टीले पराजय व्यहोर्छ । उदाहरणका लागि भारतका प्रम नरेन्द्र मोदी नै छन् । उनी भारतीय कांग्रेसका प्रम उम्मेदवार राहुल गान्धीभन्दा सक्षम, सार्थक संवाद गर्ने र आफ्नो पार्टी एजेन्डामाथि कमान्ड गर्ने हैसियत राख्छन् । बेलायतको लेबर पार्टी राष्ट्रिय रूपमा स्वीकृत अनुहारको अभावमा बेहाल अवस्थामा छ, अहिले । नेतृत्वको इमेजमाथि राष्ट्रको भरोसा बस्छ । कांग्रेसलाई त्यो इमेजको परिपूर्ति १४औँ महाधिवेशनबाट पूरा गर्नु छ । को छ पार्टी कार्यकर्ताभन्दा माथि उठी राष्ट्रले भरोसा गर्ने व्यक्तित्व ?

कांग्रेसको संगठन छैन । कांग्रेसभित्र देउवा गुट, पौड्याल गुट, कोइराला गुट र सिटौला गुट होलान् । यी गुटका बिचौलियाहरू नेताको परिक्रमा गर्न सक्छन्, नेतालाई गाडीमा राखी परिक्रमा गराउन सक्छन् । तर, कांग्रेसको आदर्श बोकेर भावी निर्वाचनमा कम्युनिस्टसँग प्रतिस्पर्धा गर्ने हैसियत कमै मात्र राख्छन् । कांग्रेसको संगठन यतिखेर महात्मा गान्धी भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गर्नुअगाडि जस्तो उच्चमध्यम वर्गको क्लबमा रूपान्तरित भएको छ, ‘गफाडी’ क्लबमा । पुरानो पुस्ताले नयाँलाई सराप्छ । नयाँले पुरानोलाई अल्छी र निकम्मा देख्छ । गफाडी संस्कार र सराप्ने संस्कारबाट कांग्रेस मुक्त हुन गुटको नेताबाट सम्भव छैन, देशको नेता खोज्दा यो सम्भव छ ।

अन्तमा, धेरै वर्षअगाडि पढेको रबर्ट ब्राउनिङको ‘द लस्ट लिडर’ कविता कांग्रेस नेताहरू देख्दा सम्झना आउँथ्यो । हिजोआज कांग्रेसलाई देख्दा मात्र होइन, जुनसुकै नेतालाई ‘फिट’ हुने यो कविता बडो मार्मिक छ । अंग्रेज कवि विलियम वर्डसवर्थको सम्मान र घृणाको यो कविता हो । वर्डसवर्थ आफ्नै चेलाबाट घृणा पाउँछन्, यो कवितामा । स्वतन्त्रताका पुजारी वर्डसवर्र्थ स्वतन्त्रताको दुस्मन भएपछि रबर्टको यो कविता आफ्नो गुरु वर्डसवर्थप्रति लक्षित छ । नेपालमा दलका नेताहरूप्रति नागरिकको तहबाट माथि उठेर कार्यकर्ताले घृणा गर्न थालेका छन् । यो गम्भीर हुन चेतावनी हो, नेताहरूलाई । बानेश्वरको क्वारेन्टाइनमा मसँग चप्पल लगाएर कामको खोजीमा बस्ने त्यो युवक कविताका माध्यमबाट नेताप्रति घृणा लेख्न नसक्ला, रबर्ट ब्राउनिङजस्तो । तर, नेपालको राजनीतिको नक्सा भने यस्तै युवाले बदल्न सक्छन्, भावी दिनमा ।
नयाँपत्रिका दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित खवर