काठमाडाैं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई बोलाउनुभएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने जानकारी दिनु भएको छ ।

काँग्रेसले मङ्सिर २९ गते सरकारको विरोधमा गर्न लागेको प्रदर्शनको एक दिन अगाडी संबैधानिक परिषदको बैठक बोलाएकोप्रति काँग्रेस नेताहरुले आशंका गरेका छन् ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै काँग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने वा पार्ने ढंगले घरेलु अथवा बाह्य कुनैपनी भेला, छलफल या बैठक, प्राथमिकतामा नरहने बताउनुभएको छ ।

संबैधानिक आयोगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, मानवाधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी तीन दर्जनभन्दा बढी पद रिक्त छन् ।

नियुक्तिको विषयमा प्रधानमन्त्री ओली र देउवाबीच पटक पटक भएका छलफलबाट सहमति जुट्न नसकेपछि परिषदको बैठक प्रभावित हुदै आएको छ ।

संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने संबैधानिक व्यवस्था छ ।

परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान रहेकाले देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक पनि प्रभावित हुने देखिएको छ ।

संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समयदेखि पदपूर्ति हुन सकेको छैन । पटकपटक नियुक्तिको कार्यसूचीमा बैठक बोलाएपनि अन्तिम समयमा बैठक स्थगित हुँदा ४५ पद अझै रिक्त छ ।

प्रतिक्रिया

सम्बन्धित खवर