
२४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले मोरङमा शिक्षकको हत्या भएको प्रति विरोध जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ ।
आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले विप्लव समूहलाई आग्रह गरेको छ ।
मंगलबार विहान मोरङ मिक्लाजुङ–१ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो ।