उनले स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा १०० दिनभित्र कोभिड-१९ अन्त्य नभए पनि आफूले बाटो मोड्ने दाबी गरे । १०० दिनसम्म मास्क लगाउन पनि उनले आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।
बाइडेनले क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरालाई अमेरिकाको आगामी स्वास्थ्य मन्त्री घोषणा गरेका छन् । त्यस्तै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन् ।
बाइडेनले बालबालिकालाई पुनः विद्यालय फर्काउन आफूले प्राथमिकताका साथ काम गर्ने बताए । त्यसका लागि अमेरिकामा खोप अभियान आवश्यक भएको उनको भनाइ थियो।
अमेरिकाको नियामक निकायले मंगलबार नै फाइजर र बायोनटेक कम्पनीको खोप ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको छ । त्यस्तै खाद्य तथा औषधि निकाय (एफडीए) ले फाइजरको खोपलाई सुरक्षाकै कारण स्वीकृति दिन रोक्नुपर्ने कारण नभएको स्पष्ट पारेको छ। यसबाट यो खोपलाई अमेरिकाले चाँडै स्वीकृति दिने अपेक्षा गरिएको छ ।
बेलायतमा गत साता नै स्वीकृति पाएको यो खोप सर्वसाधारणलाई लगाउन थालिसकिएको छ । खोपबारे निर्णय गर्न एफडीएको बैठक बिहीबारका लागि बोलाइएको छ । बैठकले आपतकालीन प्रयोगका लागि स्वीकृति दिने अपेक्षा छ ।