२२ मंसिर २०७७, सोमवार

उदयपुर जिल्लाको दुर्गम क्षेत्रका किसानहरूको मुख्य आम्दानीको स्रोत बनेको तेजपत्ताले उचित मूल्य नपाउँदा किसानहरु मारमा परेका छन्।


तेजपत्ता पहाडी तथा दुर्गम क्षेत्रमा जस्तोसुकै भिरालो जमिनमा पनि पाइन्छ । जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात् सिन्कौलीको पात नै पहाडी क्षेत्रका किसानको आम्दानीको स्रोत हो । घर वरिपरिको पाखोबारी र खेतबारी छेउछाउमा वा वनजंगलमा जताततै तेजपत्ता पाइन्छ।

रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् ।

जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ ।

डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार हाल सो क्षेत्र तेजपात उत्पादनमा अग्रणी बन्न पुगेको छ ।

सरकारी र निजी क्षेत्रको संरक्षणमा रहेका वनमा तेजपात खेती हुँदै आएको छ । रौता क्षेत्र जिल्लामै बढी तेजपात उत्पादन गर्ने क्षेत्र भएको जिल्ला तेजपात व्यवसायी तथा उद्यमी भरत थापा बताउँछन् ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलका अनुसार कूल तेजपात उत्पादनमध्ये वार्षिक ७० प्रतिशतसम्म उत्पादन हुने गरेका कारण रौतामा तेजपात उत्पादन तीव्र वृद्धि भइरहेको छ ।

रौता बाहेक उदयपुरगढीको भलायाडाँडा, डुम्रे, तावाश्री, कटारीको सिरिसे, हर्देनी, मयङ्खु, ताप्ली, चौदण्डीको सिद्धिपुर, बबला, लिम्चुङबुङको विभिन्न स्थानमा समेत व्यावसायिक रुपमा तेजपात उत्पादन हुँदै आएको प्रमुख पौडेलले बताए ।

अहिले गाउँपालिकाको मुर्कुची, कोप्चे, नामन्त, मलबासे, माझखर्क, पाँबु, बोलुङखा, आँपटार, सल्ले, इनामे, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । अहिले आएर गाउँपालिका क्षेत्रबाट मात्र वार्षिक रु ६ करोडभन्दा बढी मूल्यको तेजपात बिक्री हुने गरेको गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिए ।

लामो समयदेखि व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको भएपनि किसानले उचित मूल्य नपाउँदा वर्षेनी घाटा सहेर बिक्री गर्न बाध्य हुनुपरेको रौताका किसान खम्ब मस्र्याङ्गी मगरको गुनासो छ।

यो क्षेत्र जिल्लाको पहिलो तेजपात जोन क्षेत्रसमेत बनेको रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् । जिल्लाको पहिलो उत्कृष्ट उत्पादन हुने क्षेत्र बन्न पुगे पनि यस क्षेत्रका किसानको तेजपातको मूल्य निर्धारण बिचौलिया र खरिदकर्ता व्यापारीले गर्ने गरेको उनले बताइन् । उत्पादक किसानले भने लामो समयदेखि उचित मूल्य नपाउँदा अन्याय सहँदै आउन परेको पाँबुका दीपबहादुर मगरले बताए।

यस क्षेत्रमा उत्पादित तेजपात विराटनगर हुँदै जोगमनी तथा सिरहाको लहान हुँदै वीरगन्ज भएर भारत निकासी हुँदै आएको छ। गाउँघरमा तेजपातको मूल्य रु २० –३० प्रतिकेजी रहेको र अन्यत्र वीरगन्ज तथा विराटनगरमा रु १०० देखि १२० प्रतिकेजी मूल्यमा हुने गरेको छ।

रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार उत्पादन मूल्य निर्धारण गर्न गाउँपालिका नै विभिन्न व्यापारीसँग पहल शुरु गरिएको छ। उचित मूल्य निर्धारण गर्न पहल गर्ने उनि बताउँछन् ।

मुर्कुचीका उत्पादक किसान हर्कबहादुर मगर भन्छन्,‘रौता तेजपातको पहिलो जोन बन्न पुगेको छ, यस क्षेत्रका ८० प्रतिशत किसानले व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् भने अझै वर्षेनी खेतीमा वृद्धि हुँदै गइरहेको छ ।’ स्थानीय सरकार र सम्बन्धित निकायले बिचौलियाको चलखेल नियन्त्रण गर्न सके वार्षिक दश करोड बढी मूल्यको तेजपात निर्यात गर्न सकिने मगरको दावी छ ।

के हो तेजपत्ता ?

तेजपत्ता एक प्रकारको जडीबुटी हो । यसलाई चिया वा तरकारीमा राखेर स्वाद लिन सकिन्छ । खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ । यसमा भिटामिन ए र सी पाइन्छ।

औषधिय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ। तेजपत्ताको विरुवा हुर्काउन पानी, गोडेमेलमा खासै मिहिनेत पनि पर्दैन । यसको खेती खासै झन्झटसलो हुँदैन किसानको बारी, पाखो वा भिरालो स्थान सबैतिर यसको खेती गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर