१९ मंसिर । संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ । लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोग (यूनसीएनडी) ले बुधबार बहुमतका आधारमा गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो ।

भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा बुधबार भएको मतदानमा यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका छन् ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ । त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् ।

जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए । मतदानमा युक्रेन भने अनुपस्थित रहेको थियो ।

गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदै यसको औषधिजन्य गुण र वनस्पतिका रुपमा लिने विषयको वकालत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ‘औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँजाबाट बन्ने औषधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औषधि नीति पैरवी समूहहरूले एक विज्ञप्ति निकालेर बताए ।

राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर