
काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्षद्वय ‘इगो’को टकरावमा छन् । एकअर्का विरुद्ध प्रतिवेदन बनाएका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन् ।
मंगलबार बसेको सचिवालय बैठकमा पनि दुई अध्यक्षबीचको विवाद प्रष्ट देखियो । बैठक राख्ने वा नराख्नेमै उनीहरुबीच विवाद भएको सहभागीहरुले बताएका छन् । तर, अनौपचारिक संवादलाई जारी राखेर पार्टीको किचलो मिलाउनुपर्ने अधिकांश सचिवालय सदस्यहरुको धारणा थियो ।
औपचारिक बैठकलाई निरन्तरता दिनुपर्नेमा अध्यक्ष ओलीको विमतिकाबीच सहमति जुटेकोछ । मंसिर १३ गते बसेको नेकपा सचिवालय बैठक मंसिर १६ अर्थात मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा राख्ने निर्णय भएको थियो ।
तर, पार्टीका बहुमत सदस्यहरु आफ्नो विपक्षमा उभिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठक राख्ने पक्षमा थिएनन् । बैठक बस्ने नै भए धुम्वाराहीमा सुरक्षा ‘थ्रेट’ रहेको भन्दै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै हुनुपर्ने अडान लिए ।
उनी मंगलबारको बैठक पनि टार्ने मनस्थितिमा रहेको अर्का अध्यक्ष दाहाल पक्षले बताएको छ । दाहाल पक्षको दबाबपछि मात्र मंगलबार सचिवालय बैठक बस्न सकेको उनीहरुको भनाइ छ ।
तर, प्रधानमन्त्री ओली पक्षले भने विवाद मिलाउन अनौपचारिक बैठकहरुलाई प्राथमिकतामा राखेको र औपचारिक बैठक नबस्ने नभनेको बताउने गरेका छन् । मंगलबारको बैठकमै अध्यक्षद्वय ओली र दाहालबीच वाद–विवाद भएको थियो ।
लीले सचिवालय बैठक नै नराख्न प्रस्ताव गरेपछि चर्काचर्की परेको थियो । बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको सहभागी नेताहरुले बताएका छन् ।
तर अर्का अध्यक्ष दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए । दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको बताइएको छ ।
बैठकको सुरुमै ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने शर्त राखेका थिए । तर, बहुमत सचिवालय सदस्यले प्रस्ताव फिर्ता नभइ पार्टी कमिटीमा घनिभूत छलफल गर्नुपर्ने अडान राखेपछि औपचारिक तथा अनौपचारिक छलफलहरु प्राथमिकतामा परेको बताइएको छ ।