काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेकपाभित्रकाे विवाद उत्कर्षमा पुगेकाे वेला सचिवालय बैठक आज बस्दै छ । पार्टीकाे मुख्य कार्यालय धुम्बाराहीमा दिउँसो बस्न लागेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेकाे छ ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’ बताइरहँदा प्रचण्ड पक्ष भने प्रधानमन्त्री ओली ‘सच्चिनुपर्ने’ अडान लिइरहेकाे छ । सचिवालय बैठकमा छलफल हुनुअघि नै दुवै पक्ष रणनीति बनाउन व्यस्त छन् ।

नेकपाका ‘कार्यकारी’ भनिएका अध्यक्ष प्रचण्ड र उनकाे साथमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाइ एक्ल्याएरै लैजाने र बहुमतकाे निर्णय मान्न बाध्य पारिने रणनीति अँगालेकाे बुझिन्छ । साथै सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा समेत लैजाने र छलफलबाटै निधाे गर्ने याे पक्षकाे प्रयास रहेकाे स्राेतकाे भनाइ छ ।

उता, प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्ष भने सकेसम्म प्रचण्डलाइ मनाएर प्रस्ताव फिर्ता गराउने र विवाद साम्य पार्ने रणनीतिमा लागेकाे छ । यस पक्षकाे जाेड दुवै अध्यक्षका प्रस्ताव संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउनुपर्नेमा रहेकाे स्राेत बताउँछ ।  सचिवालय तथा स्थायी कमिटीमा प्रचण्ड-नेपाल पक्षकाे बहुमत रहेकाे बुझेरै ओली पक्ष भने ‘अन्तरिम’ कमिटीमा बहुमत र अल्पमतको कुनै महत्व नहुने भन्दै यसअघि पनि उक्त बैठकहरूले गरेका निर्णय नमान्ने पक्षमा उभिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर