काठमाडौं,
ठगी सम्बन्धि कसूरमा संलग्न काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामेछाप मन्थली नगरपालिका-८ घर भएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समितिका अध्यक्ष ६४ वर्षीय लम्बोदर कुमार न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी- नोक्सानी गरी क्षति पुर्‍याई आफू र अन्य संलग्न व्यक्तिहरुलाई लाभ पुर्‍याई तथ्यगत रुपमा खुलेको ८ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ तथा लेखा परीक्षणबाट खुल्न आएको बेरुजु सहितको रकम २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ ५१ पैसा ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानरगपालिका-४ चण्डोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
२०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म उक्त कलेजको सञ्चालक समितिको अध्यक्ष रहेका न्यौपानेले २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले जनही १ करोड ५० लाख रुपैयाँ  रकम बिल भरपाई पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको, कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजार रुपैयाँ गाडी न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएको, कलेजको लेटरप्याड र छापको दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा न्यौपानेले ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेको र न्यौपानेले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भरपाई नचाहिने गरी आफ्नो कार्यकालको बिभिन्न मितिमा रकम झिकी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागबाट सम्पत्ति शुद्धिकरण सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको तथा अख्तियार अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्दाको कसूरमा धरौटीमा रिहा भई उक्त मुद्दा बिचाराधिन रहेको उक्त व्यूरोले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर