
२०७७ मङ्सिर ५ गते
झापा, मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट ११ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ८१ हजार १ सय रुपैयाँ र १ सय १० भारतीय रुपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने २४ वर्षीय बिष्णु राजबंशी र सोही नगरपालिका-१५ पानबस्ती बस्ने १८ वर्षीय किशोर रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले बा.३८ प ३८८५ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारस्थित निसी भलकोट सन्दिप गेष्ट हाउसको १ नम्बर कोठाबाट करिब १० किलो अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त गेष्ट हाउसमा कात्तिक २६ गतेदेखि बस्दै आएकी रुकुम महिकोट गाउँपालिका-२ घर भएकी २८ वर्षीया रमिता घर्ती मगर सम्पर्क विहिन भएपछि ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले कोठाको ढोकाको चाबी फुटाई हेर्दा उक्त पदार्थ फेला पारी बरामद गरेको हो । हाल फरार रमिताको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।