एजेन्सी, १ मंसिर । कोभिड १९ विरुद्धको खोप विकासमा जुटिरहेका वैज्ञानिकहरुलाई थप सफलता मिलेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी भएको विकासकर्ता कम्पनी मोडर्नाले जनाएको छ ।

बीबीसीका अनुसार, मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार साताको अन्तरमा दिइएको थियो । तर, यसले कति लामो प्रतिरोधी क्षमता कायम राख्छ भन्ने निश्चित भइसकेको छैन् ।

कोभिड खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ विलियन डलरको कोष प्रदान गरेको छ । कम्पनीले १० करोड डोज भ्याक्सिन उपलब्ध गराउन लागि साढे १ विलियन डलरको सम्झौता समेत गरिसकेको छ ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएका थिए । अहिले विश्वमा ११ कम्पनीको खोपको परीक्षण अन्तिम चरणमा छ । बेलायतमा मात्र ६ वटा कम्पनीलाई मानव परीक्षण गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर