२४ कार्तिक २०७७                                              उदयपुरमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसीएमसी)ले यस वर्ष उदयपुरमा देउसीभैलो खेल्ने कार्यक्रम पूर्णरुपले बन्द गरेको छ । चाडपर्वलाई लक्षित गरी आईतबार बसेको डिसिसीएमसीको बैठकले यस वर्ष उदयपुरमा देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले भने, ‘को कहाँबाट कसरी आएको हुन्छ, देउसी र भैलोको नाममा घर घरमा संक्रमण सर्ने खतरा रहेकाले प्रतिबन्ध लगाएका हौ ।’ ‘भाईटिका, दिपावली, छठ, देउसी भैलो पर्व समूहगतरुपमा मनाउन, जम्मा हुन र भिडभाड गर्न कानुनबमोजिम निषेध गरिएको छ ।’ प्रजिअ पाण्डेले भने, ‘पालना भएको नपाइए कानुन बमोजिम कार्वाही गरिने छ ।’


उदयपुरका सबै खोला निषेधित  
बैठकले जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मङ्सिर ५ र ६ गते जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए । चाडपर्वमा धेरै भिडभाड हुने र संक्रमण ह्वात्तै बढ्न सक्ने भएकाले बैठकले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बैठकले चाडपर्व घर परिवार भित्र मात्र मनाउन र मठमन्दिरमा गरिने नित्य पूजा बाहेक मठमन्दिर, सार्वजनिक स्थल, नदी र तालतलैयामा समूहमा भेला नहुन, साँस्कृतिक कार्यक्रम नगर्न, फुटबल भलिबल प्रतियोगिता नगर्न, देउसी भैलो नखेल्न, पटका, भुईचम्पा, आतिसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सर्वसाधरणलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यसैगरी सक्रमण रोकथाम सम्बन्धी सचेतनाका लागि सबै स्थानीय तहले टोल–टोलमा माईकिङ्ग तथा संचार माध्यमहरुबाट नियमितरुपमा कार्यक्रमहरु सञ्चालन गर्ने, जनसमुदायलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने र साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न अपिल गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।

उनले स्वास्थ्य तथा सुरक्षाका सावधानीहरु नअपनाई भिडभाड गरी पसल, व्यवसाय संचालन गरेको पाइएमा जिल्ला अनुगमन समितिले उक्त पसललाई तत्काल बन्द गराउनेसमेत अधिकार दिइएको छ । माहामारी अझै विकरालरुपमा बढ्न सक्ने र अक्सिजनको अभावमा धेरै नागरिकहरुको ज्यान जान सक्ने भएकाले सबै स्थानीय तहले आफ्ना क्षेत्रमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आइसोलेसन वार्ड, अक्सिजन लगायतका थप आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यस्तै उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा अवस्थित नेपाली सेनाको सुरक्षा गुल्मको भवनमा प्रदेश स्तरीय क्वारेण्टीन सञ्चालन गरिएको र हाल प्रयोगमा नआएकोले नेपाली सेनालाई आफ्नो आन्तरिक आइसोलेसन सेण्टर व्यवस्थापनकोरुपमा कार्य गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।

हालसम्म जिल्लामा आठ हजार तीन सय ६९ जनाको पिसीआरबाट प्रविधिबाट परीक्षण भएकोमा दुई सय ६५ जना संक्रमण पुष्टि भएको जसमा एक सय ८९ जना उपचार पश्चात निको भई घर फर्केको र ७६ जना अझै संक्रमित रही उपचारत रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर