
१९ कार्तिक २०७७ काठमाडौं कोरोना र लकडाउनका कारण काम नपाएका, खान नपुग्ने, अशक्त, असहायलाई अभियन्ताले काठमाडौंको खुल्लामञ्चलगायतका स्थानमा २२३ दिनदेखि निःशुल्क खाना खुवाउने अभियान चलाइरहेका छन् । तर सोमबार काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरी यो अभियान रोक्न खोज्यो । जसको सर्वत्र विरोध भएपछि बुधबार मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गर्दै खुल्ला स्थानमा खाना ख्वाउँदा महानगरको बेइज्जत भएको बताए ।
केही ब्यक्तिले काठमाडौंलाई मागी खानेको शहरका रुपमा चिनाउने प्रयास गरेको शाक्यको आरोप छ । उनले भने, काठमाडौंलाई मागी खानेहरुको शहर बनाउन भोकाको स्वभिमान खोसियो, फोटो भिडियो बेचेर राजनीति गरियो ।
विभिन्न वडाका वडाध्यक्षले पनि निःशुल्क खाना ख्वाउँदा महानगरको बेज्जत भएको भन्दै मेयर शाक्यकै भनाइमा होमा हो मिलाइदिए । मेयर शाक्यको कुरामा सहि थाप्नेमा वडा नं. १० का वडाध्यक्ष रामकुमार केसी, वडा नं. ३ का वडाध्यक्ष दिपक केसी र वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल थिए ।
यतिमात्र होइन मेयर शाक्यले यस्ता अभियानले मान्छे अल्छि बनाएको भन्दै काम नगरी खाने परिपाटी बन्न थालेको बताए ।
अभियन्ताको काम महानगरले किन गर्न नसकेको भन्ने प्रश्नको उत्तरमा शाक्यले भने लकडाउन अवधिमा भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने नाराकासाथ ३२ सै वडाका १ लाख ५० हजार बढी परिवारलाई राहत र २ लाख ५० हजार बढीलाई खाना खुवाएको बताए । उनले जागिर गुमेकालाई रोजगार दिएको पनि दाबी गरे ।
पत्रकार सम्मेलनमा मेयर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउने समुहलाई विकल्प स्थान आफ्नै खर्चमा महानगरले दिने प्रतिवद्धता गरेका छन् । उनले रोजगारी गुमेर खान नपाए वा रोजगारी समेत वडा कार्यालयमार्फत सबैले पाउने बताए ।
लकडाउन प्रभावित असहाय, विपन्न र भोकालाई खाना ख्वाउने अभियानप्रति मेयर शाक्य असन्तुष्ट रहेको प्रष्ट देखिन्छ । उनी अभियानमा सघाउनुको साटो खुल्ला स्थानको अभियान रोक्ने कार्यमा बढि अग्रसर छन् । उनको यो कार्यले भोकाको पेटमा पर्ने अन्न खोसिनेछ । त्यसैले अभियन्ताको समुहसमेत ब्यवस्थित हुन र महानगरले पनि बोली भन्दा कामबाट आफुलाई प्रमाणित गर्न आवश्यक छ । यसतर्फ दुबैको ध्यान जाओस् ।