४ कार्तिक २०७७                                                 राजधानी दैनिक                                                  पत्रपत्रीकाबाट                                             काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो ।

अहिले विभागलाई चेकजाँचविना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

– तत्काल कडा कारबाही गर्न चौतर्फी दबाब
– यसअघि पनि पटक पटक भएको थियो ठगी
– गोर्खा ब्रुअरीद्वारा ५ वर्षमा १ अर्ब ४४ करोड अन्तःशुल्क बुझाउन बाँकी

विभागले वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै केही कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको छ ।

गोर्खा ब्रुअरीले उत्पादन गरेको बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगले मावन स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको दाबी छ ।

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई झुक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएको भन्दै अहिले आम उपभोक्ताले सरकारी निकाय यस सम्बन्धमा कडा रूपले प्रस्तुत हुनुपर्ने दबाब दिइरहेका छन् । गोर्खा ब्रुअरीमाथि लागेको आरोपका सम्बन्धमा धेरै पटक सो कम्पनीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उसले अहिले कानुनी रूपमा बच्न आफूले अनेक बहानाबाजी गरिरहेको छ ।

लकडाउनका बेला अनुुगमन नहुने र दसैं–तिहारको समयमा अकुुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही नभएको आम उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको गुनासो छ ।

आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीको उत्पादनमा माल्टभन्दा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । जसका कारण गोर्खाद्वारा उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएको छ । आन्तरिक राजस्व विभागले कुनै पनि हालतमा गोर्खा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ ।

अनुसन्धानको क्रममा मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको थियो । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कडा कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । माल्ट ५० प्रतिशत भन्दा कम भएपछि ऐनअनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने विभागले जनाएको छ ।

विभागले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तरसम्बन्धी कमजोरीबारे कडा कारबाही हुने बताएको छ । हाल अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य सरहको अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको छ । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै यसलाई बियरको मान्यतासमेत नदिएको दाबी गरेको छ ।

गोर्खा ब्रुअरीले विभागले कायम गरेको अन्तःशुल्क समेत बुझाउन आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा पठाउन रोक लगाइएको बताएको छ । जसका कारण अहिले यस कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा आफ्नो बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ । गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा गुणस्तहीन रहेको विभागको दाबी छ ।

आन्तरिक राजस्व विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा सो नभई अत्यधिक मात्रामा गुणस्तरहीन चामलको कनिकाको मात्रा बढी प्रयोग गरेको भेटिएको जनाएको छ । गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिराउनु भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको छ ।

केही समयपहिले चितवनस्थित आन्तरिक राजस्व कार्यालयले हेर्ने गरेको नवलपुरमा अवस्थित गोरखा ब्रुअरीको कारखाना अहिले भने आन्तरिक राजस्व कार्यालय नवलपुरले हेर्दै आइरहेको छ ।

यसरी बियरमा चाहिने माल्टको मात्राभन्दा कम माल्ट एवं जौको प्रयोग गरी कम गुणस्तरीय बियर उत्पादन गर्ने र राज्यलाई बुझाउनुपर्ने राजस्वसमेत छल्न खोजेको पाइएपछि यस कम्पनीमाथि विभाग कडा रूपले प्रस्तुत भएको विभाग स्रोतले जनाएको छ ।

खेतान ग्रुपद्वारा उत्पादन हुँदै आएको यस बियरका केही जिम्मेमार पदाधिकारी यसअघि ठगी आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा समेत परेका थिए ।

आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । जसका कारण हाल यस कम्पनीबाट उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएका छन् ।

आन्तरिक राजस्व विभागले कुनै पनि हालतमा गोरखा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म सो बियर बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ । गोरखा ब्रुअरीले प्रतिलिटर थप २ सय ६५ रुपैयाँ अन्तःशुल्क सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

हाल कम्पनीमा सिज भएको बियरको अन्तःशुल्क आन्तरिक राजस्व कार्यालयले तोकेबमोजिम बुझाउने हो भने अब गोर्खा ब्रुअरीले २४ लाख ८ हजार ६ सय लिटरको थप अन्तःशुल्क ९० करोड ३२ लाख ७९ हजार बुझाउनुपर्ने देखिन्छ । अब यस्तो अन्तःशुल्क जसरी पनि लिइछाड्ने विभागको दाबी छ ।

कोरोना संक्रमण नियन्त्रणमा सरकार लागेको मौका छोपी दसैं–तिहार लगायत चाडपर्वमा खाद्यान्न तथा अन्य उपभोग्य सामग्री मिसावट हुँदै आइरहेको थियो । तर, अन्तर्राष्ट्रिय ब्रान्डलाई लिएर अघि बढिरहेको गोर्खा ब्रुअरीले पनि अहिले आफ्ना उत्पादनमा जौको मात्रा घटाएर कनिकाको मात्रा बढाई गुणस्तरहीन बियर बजारमा पठाउने तयारी गर्नु दुर्भाग्य भएको विभाग स्रोतले जनाएको छ ।

यसरी मानव स्वास्थ्यसँग गम्भीर खेलबाड गरिरहेको गोर्खा ब्रुअरी अझै पनि सत्ता, शक्ति र पैसाको आडमा आफुले उत्पादन गरेको र बजारमा ल्याउने तयारी अवस्थामा रहेको बियरहरू गोदाममा थन्केपछि विभिन्न बहाना बनाएर पुरानै अन्तःशुल्क तिरेर उम्कन खोजिरहेको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको अन्तःशुल्कविरुद्घ ६ वर्षयता फरक फरक अदालतमा मुद्दा दायर गरेर अन्तःशुल्क बुझाउन अटेर गर्दै आएको गोर्खा ब्रुअरीको नियतमाथि पनि अहिले थप प्रश्न उठेको छ । ७ जेठ २०७६ मा आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा बु्रअरीलाई आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ मा दुई प्रतिशत मौज्दात कमीको अन्तःशुल्क मिनाहा गरिएको जानकारी दिएको थियो । त्यसपछि ९ जेठमा अन्तःशुल्क निर्धारण आदेश जारी गरेको कार्यालयले तोकिएको परिमाणमा अन्तःशुल्क नलाग्ने ठोस प्रमाण भए १५ दिनभित्र पेस गर्न अन्यथा सरकारको राजस्व कोषमा ८८ करोड ११ लाख रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो ।

टुबोर्ग, गोर्खा, काल्र्सबर्गलगायतका बियर र एप्पल साइडरको उत्पादक गोर्खा ब्रुअरी र आन्तरिक राजस्व कार्यालयबीच अन्तःशुल्क निर्धारणमा भएको यो विवाद पहिलो होइन । यसअघि धेरै विवाद भएका थिए । गोर्खा ब्रुअरीले पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको जरिमाना र विलम्ब शुल्क सहितको अन्तःशुल्कमध्ये कुल १ अर्ब ४४ करोड रुपैयाँ अझै बुझाएको छैन ।

गोर्खा ब्रुअरीले आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ मा आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको अन्तःशुल्क विरुद्ध राजस्व न्यायाधीकरणमा दर्ता गराएका मुद्दा अझै विचाराधीन छन् । त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ को अन्तःशुल्क विवाद सर्वोच्च अदालतमा विचाराधीन छ

प्रतिक्रिया

सम्बन्धित खवर