विकाश नेपाल
राजधानी दैनिक
पत्रपत्रिकावाट

२८ असोज २०७७, बुधवार

पोखरा । झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा राम्रो पकड छँदै थियो । बाबुलाई भेट्न छोराहरू लगायत आफन्त, शुभचिन्तक बरोबर अस्पताल आइरहे ।

यता बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको प्राणपखेरू उड्यो ।

यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । साथसाथै अझै थप संशय छँदैछ । किनकि जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।

तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । नाती नातिना जन्मे । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।

माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे । उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।

जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । निमेषमै खुसी खोसेर लग्यो । किनकि एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।

भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो ।

त्यसअघि नै विष्णुकुमारको असोज १८ मा चितवनकै सिएमसीमा निधन भएको थियो । उनलाई सुरूवातमा घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा लैजाँदै बाटैमा ज्यान गएको अनुमान छ । किनकि सिएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए। उनमा मधुमेह समेत थियो ।

सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि अर्थात असोज २४ मा उपचारकै क्रममा मृत्यु भयो । उनी त्यसको केही दिन अघिमात्र प्नोष्टेटको अप्रेसन भई घरमै आराम गरिरहेका थिए ।

त्यस्तै श्रेष्ठ परिवारमा अर्को मृत्यु भोलिपल्टै थपिएको हो । घरका मिँयो धर्मकुमारको मेडिसिटीमा उपचार सिलसिलामा निधन भएको हो । २०१०र११ सालतिरै अखिल नेपाल किसान संघमा आबद्द रहेका उनी नेकपामा जिल्लास्तरमा पुराना नेताका रूपमा चिनिन्छन् । उनले २०१५ सालको संसदीय निर्वाचनमा कम्युनिष्टका उम्मेद्वार तुलसी प्रसाद श्रेष्ठलाई जिताउन सबैभन्दा अग्रमोर्चा रही चुनाव प्रचारमा खटिएका थिए । कहिलेकाहीँ भिमादमा पनि छोराहरूसँग बस्ने उनले गत वर्षमात्रै श्रीमती गुमाएका थिए ।

यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । यस्तै, माहिली बुहारी (कृष्णकाी श्रीमती) विश्वशान्ति पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद वडा ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए।

यतिमात्र कहाँ हो र साहिली बुहारीको सोमबार मात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् ।

भिमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले मृत्युको घटनाले सिंगो भिमाद शोकमा डुबेको बताए । उनका अनुसार हिजोमात्रै भिमादका ६ जनामा कोरोना देखिएको छ । बजार पसल कम खुलेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर