प्रशान्त वली
राजधानी दैनिक
पत्रपत्रिकावाट

२७ असोज २०७७, मंगलवार


काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।

अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रमित घरमा बस्न विवश छन् ।

कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा लक्षणसहितको संक्रमण देखियो । उनका आफन्तले आईसियूका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, आईसीयू बेड खालि नभएको अस्पतालबाट जानकारी पाए । उनका आफन्तले भने, ‘के गर्नु धेरै अस्पतालमा फोन गरें, बेड छैन भन्ने जबाफ पाएँ । सोर्सफोर्स भएकाले मात्रै पाउँछन् होला । अन्त्यमा वयोधा अस्पतालमा लगें ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सय वटा भेन्टिलेटर रहेका छन् । जब कि सक्रिय संक्रमित नै ३३ हजार ८ सय ८० पुगेका छन् । तीमध्ये अधिकांशमा लक्षण देखिएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर दर्तावाल चिकित्सकको संख्या २६ हजार ३ सय ४६ रहेको छ । पर्याप्त चिकित्सक ग्रामीण क्षेत्रमा नपुग्दा पनि बिरामीहरू घरमै रोग पालेर बस्न विवश छन् ।

– आईसीयू र भेन्टिलेटर पाउन सोर्सफोर्स
– सरकारको तयारी अपूरो
– प्रत्येक मिनेटमा एक जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ७६ भेन्टिलेटर र १ सय ८१ वटा आईसियू छन् । हाल बाग्मती प्रदेशमा १ सय ५५ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत छन् । यसरी हेर्दा पनि ३० वटा भेन्टिलेटर र २१ आईसीयू खाली देखिन्छन् । तर, गम्भीर प्रकृतिका बिरामीले अस्पताल पुग्दा भेन्टिलेटर र आईसीयू नभएको जबाफ पाउने गरेका छन् ।

तर, स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटरहरू अन्य बिरामीहरूलाई पनि प्रयोग भएका कारण कोरोना संक्रमितहरूले पाउन नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सार्न सकिने इलेक्ट्रिक सर्जरीहरू अलिकति सारेर इमर्जेन्सी अप्रेसन मात्रै गरौं । त्यसबाट खालि हुन आएका आईसीयू तथा भेन्टिलेटरहरू कोभिड १९ का बिरामीका लागि प्रयोग गर्न दिनुपर्छ ।’

सरकारले अस्पतालहरूमा बेड अभाव हुन थालेपछि आकस्मिकबाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिकबाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले स्वास्थ्य पूर्वाधार विकासमा जोड नदिएको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संरचना विकासमा जोड दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको निकै अभाव छ ।’ कोरोना व्यवस्थापनमा सरकारको तयारी अपूरो भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

काठमाडौंमा प्रत्येक घण्टा ४८ संक्रमित थपिँदै
काठमाडौं उपत्यकामा प्रत्येक घण्टा ४८ जना कोरोना संक्रमित थपिने गरेका छन् । १ असोजदेखि हिजो सोमबारसम्म काठमाडौं उपत्यकामा ३० हजार ४ सय ८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा हरेक दिन १ हजार १ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण हुने गरेको छ ।

पछिल्ला २६ दिनलाई आधार मान्दा प्रत्येक एक मिनेटमा एक जना संक्रमित थपिँदै आएका छन् । असोजयता अन्य ७३ जिल्लाभन्दा काठमाडौं उपत्यकामा मात्रै थप ७ हजार ३ सय ४१ जनामा संक्रमण देखिएको छ । अन्य जिल्लामा २६ दिनको अवधिमा २३ हजार ६७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ ।

मुख्यतः भौतिक दूरी कायम नहुनु, मास्कको समुचित प्रयोग नगर्नु र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्दा जोखिम बढ्दै गएको चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजयता हालसम्म देशभर ५३ हजार ४ सय ७५ जना संक्रमित थपिएका छन् ।

सोमबार देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । २४ घण्टामा १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

यस्तै, सोमबार काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर